सरकारलाई लोकतान्त्रिक आचरण प्रदर्शन गर्न महासंघको आग्रह

बकपत्र संवाददाता       ४ दिन अगाडी प्रकाशित     22 No Comments
📋 सारांश
  •  नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्यपक्षबाट भइरहेको धरपकड र धम्कीपूर्ण व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई लोकतान्त्रिक आचरण प्रदर्शन गर्न आग्रह गरेको छ।
  • सोमबार साँझ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार श्रेष्ठमाथि भइरहेका यस्ता गतिविधिहरू स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको मूल मर्ममाथिकै निकृष्ट प्रहार भएको ठहर गरिएको छ।
  • गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा पत्रकार श्रेष्ठलाई त्रसित बनाउने काम भइरहेको महासंघले जनाएको छ।

काठमाडौं, जेठ ११ । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्यपक्षबाट भइरहेको धरपकड र धम्कीपूर्ण व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई लोकतान्त्रिक आचरण प्रदर्शन गर्न आग्रह गरेको छ। सोमबार साँझ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार श्रेष्ठमाथि भइरहेका यस्ता गतिविधिहरू स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको मूल मर्ममाथिकै निकृष्ट प्रहार भएको ठहर गरिएको छ। गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा पत्रकार श्रेष्ठलाई त्रसित बनाउने काम भइरहेको महासंघले जनाएको छ। समाचार प्रकाशन गरेकै निहुँमा उहाँलाई नियन्त्रणमा लिने प्रयास गर्ने, विभिन्न माध्यमबाट धम्क्याउने तथा पत्रकारिताको विश्वव्यापी मूल्य–मान्यता विपरीत समाचारको स्रोत खोल्न चौतर्फी दबाब दिने कार्य भइरहेको जानकारी श्रेष्ठ स्वयंले महासंघलाई गराउनुभएको थियो।

​लोकतान्त्रिक व्यवस्थामा प्रेसले राज्यका गलत कदमहरूका विरुद्ध आवाज उठाउने र जनतालाई सुसूचित गर्ने अधिकार राख्दछ। नेपालको संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको अवस्थामा, सरकारको उच्च नेतृत्वबाटै पत्रकारलाई निरुत्साहित गर्ने र डरको वातावरण सिर्जना गर्ने प्रयास हुनु निन्दनीय भएको आम सञ्चारकर्मीहरूको भनाइ छ। समाचारमा चित्त नबुझेमा वा कुनै विमति रहेमा त्यसको उपचार खोज्ने निश्चित वैधानिक र कानुनी प्रक्रियाहरू छन्। राज्य आफैंले स्थापना गरेको नियामक निकाय ‘प्रेस काउन्सिल नेपाल’ मार्फत समाधान खोज्नुको सट्टा सिधै प्रहरी प्रशासन र शक्तिको दुरुपयोग गरिनुले सरकारको अधिनायकवादी चरित्र झल्काउने महासंघले उल्लेख गरेको छ। समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको बुझाइ छ।

​नेपाल पत्रकार महासंघले सरकार र सम्बद्ध पक्षलाई आफ्नो प्रेस विरोधी व्यवहार तत्काल सच्याउन र लोकतन्त्रको उपहास नगर्न चेतावनी दिएको छ। विज्ञप्ति मार्फत महासंघले समाचारप्रति कुनै पनि प्रकारको चित्तदुखाइ वा विमति भएमा शिष्ट र कानुनी दायराभित्र रहेर प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न जोडदार माग गरेको छ। राज्यको शक्तिमा रहेका व्यक्तिहरूले कानुन हातमा लिएर पत्रकारलाई तर्साउन खोज्नुले विधिको शासनको खिल्ली उडाएको महासंघको निष्कर्ष छ। पत्रकार श्रेष्ठमाथि भइरहेको धरपकड र मानसिक दबाब तत्काल बन्द गर्न, समाचारको स्रोत खोल्न बाध्य पार्ने खालका असंवैधानिक गतिविधिहरू रोक्न र समाचारमा विमति भए प्रशासनिक शक्तिको सट्टा प्रेस काउन्सिलको कानुनी बाटो अपनाउन महासंघले आग्रह गरेको छ।

​महासंघले पत्रकार किशोर श्रेष्ठलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धम्क्याउने, त्रास फैलाउने र पेसागत मर्यादामा आँच पुर्‍याउने कार्यमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गर्न सरकारसँग माग गरेको छ। त्यस्ता दोषीहरूलाई कानुनको कठघरामा उभ्याई कारबाही गर्न र पत्रकारको स्वतन्त्रतापूर्वक बाँच्न पाउने एवं पेसा व्यवसाय गर्न पाउने अधिकारको रक्षा गर्न महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न महासंघले जोडदार माग गरेको छ। यस घटनाले समग्र पत्रकारिता जगत्लाई नै स्तब्ध बनाएको भन्दै महासंघले प्रेस स्वतन्त्रता रक्षाका लागि देशैभरका पत्रकारहरू एकजुट हुनुपर्ने र आवश्यक परे जुनसुकै कदम चाल्न पनि महासंघ पछि नहट्ने स्पष्ट पारेको छ।

सम्वन्धित समाचार