काठमाडौं, वैशाख ५ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई नै आधिकारिकता प्रदान गरेको छ। न्यायाधीशहरू सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काद्वारा दायर रिट खारेज गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको हो।
अदालतले थापा नेतृत्वको समितिलाई वैधानिकता दिन मुख्य चार कारण अघि सारेको छ:
१. राजनीतिक वैधता: विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाकै हस्ताक्षरमा फागुन २१ को निर्वाचनमा उम्मेदवारी दर्ता भई निर्वाचन सम्पन्न भइसकेकाले, अब ती काम-कारबाही बदर गर्नुको कुनै औचित्य नरहेको सर्वोच्चको ठहर छ।
२. आयोगको निर्णय अन्तिम: निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिधिभित्र रहेर प्रमाणका आधारमा निर्णय गरेको र उक्त ऐनको दफा ४६ (२) बमोजिम आयोगको निर्णय अन्तिम हुने भएकाले यसमा हस्तक्षेप गर्न आवश्यक नदेखिएको आदेशमा उल्लेख छ।
३. देउवा पक्षको कार्यकाल समाप्त: सर्वोच्चले देउवा नेतृत्वको कार्य समितिको वैधानिक पदावधि समाप्त भइसकेको तथ्यलाई स्वीकार गरेको छ। थपिएको अवधि समेत व्यतित भइसकेको अवस्थामा पुरानो समितिको दाबी कमजोर देखिएको छ।
४. बाध्यात्मक परिस्थिति: ४० प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको र नियमित महाधिवेशन हुन नसक्ने देखिएकाले बाध्यात्मक रूपमा विशेष महाधिवेशन बोलाइएको अदालतको ठम्याइ छ। आयोगले पदाधिकारी हेरफेरलाई अद्यावधिक गरिसकेकाले यसमा कुनै कानुनी वा कार्यविधिगत त्रुटि नदेखिएको अदालतले स्पष्ट पारेको छ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा र खड्काले पुस अन्तिममा सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि माघ ६ गते पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। यो फैसलासँगै गगन थापा नेतृत्वको कार्य समितिले पूर्ण कानुनी वैधता पाएको छ।
-सर्वोच्च अदालतको पूर्ण पाठ

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।