बंशीकुमार शर्मा
धेरै वर्ष अघिको कुरा हो। एउटा रमणीय पहाडी गाउँमा राम, श्याम र कृष्ण नाम गरेका तीन जना मिल्ने साथीहरू बस्थे। उनीहरू बाल्यकालदेखि नै सँगै हुर्केका थिए। गाउँको मेलापात, रोपाइँ, गोडमेल, पाखाबारीको खेतीदेखि चाडपर्वसम्म सबै काममा उनीहरू सधैँ एकअर्काको साथमा हुन्थे। गाउँकै सामुदायिक विद्यालयमा पढेका उनीहरूले हालै मात्र हाईस्कुलको परीक्षा दिएका थिए।
तीनै जना स्वभावले निकै सोझा, मेहनती र इमानदार थिए। बिहान विद्यालय जाने, बेलुका खेतबारीमा बुबा र दाजुभाइलाई सघाउने, हलो जोत्नेदेखि कोदालो चलाउनेसम्मका काममा उनीहरू रमाउँथे। उनीहरूले आफ्नो जीवनमा कहिल्यै सहर देखेका थिएनन्। गाउँका मानिसहरूले बेला–बेला भन्ने गर्थे
“सहर त राति आकाशमा तारा झरेझैँ चम्किन्छ !”
“त्यहाँ अचम्मका गाडी कुद्छन् !”
“अग्ला–अग्ला घर हुन्छन् !”
यी कुरा सुन्दा उनीहरूको मनमा सहर हेर्ने ठूलो रहर पलाएको थियो।
एक दिन तीनै जनाले सल्लाह गरे—
“परीक्षा पनि सकियो, अब एकपटक सहर घुमेर आउँ।”
अनि उनीहरूले आफ्नो पुरानो झोला काँधमा भिरे, घरबाट आमाले दिएको भुटेको मकै र चिउरा बोकेर सहरतिर यात्रा सुरु गरे।
दिनभरि पैदल हिँड्दै र बस चढ्दै साँझपख उनीहरू सहरको मुख्य चोकमा पुगे। त्यहाँको दृश्य देखेर उनीहरू अचम्ममा परे। चारैतिर ठूला–ठूला भवन, झिलिमिली बत्ती, तीव्र गतिमा दौडिरहेका गाडी र हजारौँ मानिसहरूको भीडभाड। कसैलाई कसैको वास्ता थिएन। सबैजना आफ्नै काम र हतारमा दौडिरहेका देखिन्थे।
रामले वरिपरि हेर्दै भन्यो,
“हेर न, हामीले कल्पना गरेको सहर त कस्तो फरक रहेछ!”
त्यही बेला रामलाई एउटा अग्लो भवनको माथिबाट सहर हेर्ने इच्छा जाग्यो। उसले साथीहरूलाई भन्यो
“माथि चढेर हेर्न पाए झन् रमाइलो हुन्थ्यो होला।”
तीनै जना अलि डराउँदै र संकोच मान्दै भवनको माथिल्लो तलासम्म पुगे। जेठ महिनाको टन्टलापुर घामले उनीहरू पसिनाले निथ्रुक्क भइसकेका थिए। तर छतमा पुगेर चारैतिर फैलिएको सहरको दृश्य देख्दा उनीहरूको थकान हरायो।
श्यामले टाढासम्म फैलिएका घरहरू हेर्दै भन्यो
“कस्ता ठूला घर! यहाँ बस्ने मानिसहरू कस्ता होलान के लगाउँदा हुन्, के खाँदा हुन ?
राम र कृष्णले पनि उत्सुकतासाथ टाउको हल्लाए ।
उनीहरू फेरि तल झरेर एउटा ठूलो भवनभित्र पसे। भित्रको सजावट देखेर उनीहरू झन् छक्क परे। कालो चम्किलो गद्दा भएको लामो बेन्च, रंगीबिरंगी बत्ती र सिसाजस्तै टल्किने टेबलहरू। उनीहरूले ती सामानलाई गाउँमा कहिल्यै देखेका थिएनन्। तीनै जनाले हातले छाम्दै, हेर्दै अचम्म माने।
त्यही बेला उनीहरूको नजर एउटा कुनामा बसेका तीन जना युवतीतर्फ गयो। उनीहरू हाँस्दै, गफ गर्दै चिया पिइरहेका थिए। उनीहरूको उमेर पनि लगभग पन्ध्र–सोह्र वर्षकै जस्तो देखिन्थ्यो। लामो कपाल, आधुनिक पहिरन र खुला स्वभावले उनीहरू गाउँका केटाहरूलाई कुनै परीभन्दा कम लागेनन्।
तीनै जना साथी टोलाएर उनीहरूलाई हेरिरहे। युवतीहरूले पनि गाउँले केटाहरूको त्यो निर्दोष नजर देखेर मुस्कुराए।
कृष्ण त गाउँमा निकै चर्चित थियो। ऊ मुरली बजाउन सिपालु थियो। चाडपर्व र पूजा–आजामा मुरली बजाउँदा गाउँका केटीहरू उसलाई हेर्न भेला हुन्थे। श्याम मादल बजाउन निपुण थियो भने राम नाच्न निकै सिपालु।
युवतीहरूमध्ये एउटीले हाँस्दै सोधी—
“तिमीहरू यहाँ किन आएको? यसरी किन हेरिरहेका?”
कृष्ण अलि लजाउँदै बोल्यो—
“हामी गाउँबाट सहर हेर्न आएका हौँ। तर तपाईंहरूलाई देखेपछि त सहर नै बिर्सियौँ।”
त्यो कुरा सुनेर युवतीहरू हाँसे। उनीहरूले उनीहरूलाई बस्न आग्रह गरे। तीनै जना संकोच मान्दै गद्दा भएको बेन्चमा बसे।
केही बेरपछि उनीहरूका लागि पनि चिया आयो। बिहानदेखि केही नखाएका श्यामले लजाउँदै भन्यो
“त्यो फुलेको रोटी पनि खान पाइन्छ?”
त्यो सुनेर युवतीहरू केही क्षण अलमलिए, अनि ठट्टा गर्दै हाँसे। उनीहरूले केटाहरूलाई रोटी पनि मगाइदिए। गाउँका सोझा केटाहरूले जीवनमै पहिलोपटक त्यस्तो परिकार खाइरहेका थिए।
केही बेरपछि युवतीहरूले भने—
“सहर घुम्न जाऔँ न!”
त्यो प्रस्ताव सुनेर तीनै जना दंग परे। उनीहरूले सँगै बगैँचा, पार्क, बजार र सडकहरू घुमे। श्यामले एउटा पसलमा जेरी पकाउँदै गरेको देखेर सबैलाई खान आग्रह ग¥यो।
तर जब पसलेले मूल्य भन्यो, उनीहरूको होस उड्यो। गाउँमा त्यो पैसाले धेरै चीज किन्न सकिन्थ्यो। तर रहर पूरा गर्न उनीहरूले चुपचाप पैसा तिरे।
सहर घुम्दै गर्दा उनीहरूले पहिलोपटक लिफ्ट देखे, बिजुलीका अग्ला पोल देखे, आकाश छोएजस्ता भवन देखे। सबै कुरा उनीहरूका लागि नौलो संसार थियो।
तर त्यो चमकधमकबीच एउटा घटना भने उनीहरूको मनमा गहिरो गरी बस्यो।
एउटा साँघुरो गल्लीमा उनीहरूले एकजना सानो बालकलाई भोकले रोइरहेको देखे। शरीरमा च्यातिएको लुगा थियो। आँखामा आँसु भरिएको थियो।
तीनै जना केहीबेर मौन भए।
रामले आफ्नो झोलाभित्र भएको खानेकुरा निकालेर बालकलाई दियो। कृष्णले बाँकी रहेको केही पैसा पनि उसको हातमा राखिदियो। बालकको अनुहारमा अचानक मुस्कान फैलियो।
त्यो मुस्कान देखेर उनीहरूको मनमा अनौठो आनन्द भरियो।
त्यसपछि श्यामले बिस्तारै भन्यो—
“सहरमा ठूला घर र धेरै पैसा त रहेछन्, तर यहाँ मान्छेहरू एकअर्कासँग टाढा रहेछन्।”
कृष्णले थप्यो—
“हाम्रो गाउँ गरिब होला, तर त्यहाँ भोकाएको मान्छे देख्दा सबैले बाँडेर खान्छन्।”
दुइदिन वसेर पर्सिपल्ट बिहान उनीहरू गाउँ फर्कने बसमा चढे। बसको झ्यालबाट सहरका अग्ला भवनहरू टाढिँदै गए। तीनै जना मौन थिए।
केही बेरपछि रामले मुस्कुराउँदै भन्यो—
“सहर घुम्नका लागि राम्रो रहेछ, तर मन फुकाएर बाँच्न त आफ्नो गाउँ नै प्यारो।”
त्यो कुरा सुनेर श्याम र कृष्ण पनि मुस्कुराए। बस बिस्तारै गाउँतिर अघि बढिरह्यो, अनि उनीहरूको मन फेरि आफ्नै माटो, आफ्नै खेतबारी र आफ्नै गाउँको मायाले भरिन थाल्यो।

वंशीकुमार शर्मा -बकपत्र.कमकम नियमित स्तम्भकार तथा सामाजिक रुपान्तरणका पक्षमा कलम चलाउने अभियान्ता हुन् ।