जात सोधी–सोधी तगारो लगाइयो,
जात सोधी–सोधी बाटो छेकियो,
जात सोधी–सोधी कोठा रोकियो,
जात सोधी–सोधी व्यवहार गरियो,
जात सोधी–सोधी घृणामाथि घृणा थपियो।
तिमी भन्छौ—
म बढी बोल्छु,
नमिठो बोल्छु,
चर्को बोल्छु।
अझ भन्छौ—
म आफ्नो लागि मात्र बोल्छु।
सबैभन्दा पहिले पढ्ने तिमी,
सबैभन्दा धेरै जान्ने तिमी,
सधैँ माथि रहने तिमी—
यदि मेरो लागि तिमी बोलेको भए,
म बोल्नै पर्ने थिएन,
तिमीलाई पोल्नै पर्ने थिएन।
तिमीलाई थाहा त धेरै छन्—
अपराधका कारण अनेक हुन्छन्,
अन्यायका रूप अनेक हुन्छन्।
तर यति भनिदेऊ—
बाहुन–क्षेत्री भएकै कारणले मारिएको छौ?
आदिवासी जनजाति भएकै कारणले सिद्धिएको छौ?
त्यही भएर अपमानित भएका छौ?
त्यही भएर तिरस्कृत भएका छौ?
यहाँ—
कृष्ण कामी भएकै कारणले मारियो,
नवराज कामी भएकै कारणले साथीसँगै काटियो,
अजित मिजार भएकै कारणले सकियो।
कति सकिए, कति मारिए—
गन्ने हो भने कारण एउटै थियो: जात।
दैनिक अपमानका चाङ लगाइए,
जात सोधी–सोधी तगारो लगाइयो,
जात सोधी–सोधी बाटो छेकियो,
जात सोधी–सोधी कोठा रोकियो,
जात सोधी–सोधी व्यवहार गरियो,
जात सोधी–सोधी घृणामाथि घृणा थपियो।
अन्याय धेरै छन्—
तर तिमीले भोगेको अन्याय
मैले पनि उस्तै भोग्नु पर्ने,
र मैले भोगेको अन्याय
तिम्रो अधिकार बन्ने—
फरक यति छ—
तिमी सरकारबाट मात्र अन्यायमा छौ,
म सरकारसँगै तिमीबाट पनि अन्यायमा छु।
मलाई तिमीसँग पनि लड्नु छ,
सरकारसँग पनि लड्नु छ।
त्यसैले त
तिमीलाई मेरो आवाज
नमिठो लाग्छ,
तितो लाग्छ,
स्वार्थी लाग्छ।

सिर्जना अस्तित्व- सामाजिक रुपान्तरणका पक्षमा तथा जातव्यवस्था विरुद्ध कलम चलाउने युवा अभियान्ता हुन् ।