हजार माइलको बाटो

हजार माइलको बाटो’ :पढी भ्याउंदा

रामबहादुर जि.सी.       १० घण्टा अगाडी प्रकाशित     44 No Comments
📋 सारांश
  • पुस्तकका मुख्य पात्र नरेन्द्र अधिकारी र धिरेन्द्रका माध्यमबाट लेखकले व्यक्ति, परिवार, राजनीति र समाजबीचको जटिल सम्बन्धलाई गहिराइका साथ केलाएका छन्।
  • प्रख्यात साहित्यकार नारायण ढकालद्वारा लिखित ‘हजार माइलको बाटो’ पढी भ्याइ सो सम्बन्धमा एक पाठकिय बिचार टिप्पणी राख्ने धृष्टता गर्दै छु।
  • खासगरी पुस्तकमा नेपाली समाज, राजनीति र जनजीवनका सात दशकभन्दा बढी समयका उतारचढावलाई कथाको माध्यमबाट प्रस्तुत गर्ने कोशिस गरिएको छ।
पुस्तकका मुख्य पात्र नरेन्द्र अधिकारी र धिरेन्द्रका माध्यमबाट लेखकले व्यक्ति, परिवार, राजनीति र समाजबीचको जटिल सम्बन्धलाई गहिराइका साथ केलाएका छन्।
प्रख्यात साहित्यकार नारायण ढकालद्वारा लिखित ‘हजार माइलको बाटो’ पढी भ्याइ सो सम्बन्धमा एक पाठकिय बिचार टिप्पणी राख्ने धृष्टता गर्दै छु ।
खासगरी पुस्तकमा नेपाली समाज, राजनीति र जनजीवनका सात दशकभन्दा बढी समयका उतारचढावलाई कथाको माध्यमबाट प्रस्तुत गर्ने कोशिस गरिएको छ । पुस्तकका विभिन्न कथाहरूले निरंकुश पञ्चायती व्यवस्था, झापा आन्दोलन, बहुदलीय व्यवस्थाको स्थापना, माओवादी सशस्त्र बिद्रोह, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संविधानसभा तथा समकालीन राजनीतिक–सामाजिक यथार्थसम्मको यात्रालाई जीवन्त ढंगले चित्रण गरिएको छ ।

पुस्तकका मुख्य पात्र नरेन्द्र अधिकारी र धिरेन्द्रका माध्यमबाट लेखकले व्यक्ति, परिवार, राजनीति र समाजबीचको जटिल सम्बन्धलाई गहिराइका साथ केलाएका छन्। नरेन्द्र एक उदार, सुधारवादी र जनपक्षीय स्थानीय नेतृत्वका रूपमा देखिन्छन् भने धिरेन्द्रको जीवनयात्राले पारिवारिक अविश्वास, राजनीतिक आवेग र द्वन्द्वकालीन मनोविज्ञानका गहिरा पाटाहरू उजागर गर्छ। विशेषतः धिरेन्द्र र नरेन्द्रबीचको सम्बन्ध तथा त्यसले जन्माएको त्रासदीले माओवादी द्वन्द्वकालमा व्यक्तिगत प्रतिशोध, शंका र राजनीतिक हिंसाले कसरी मानवीय सम्बन्धलाई प्रभावित गर्‍यो भन्ने प्रश्न उठाउँछ।

धुर्बे, सुन्तली, दिलबहादुरलगायतका पात्रहरू मार्फत लेखकले गरिबी, वर्गीय विभेद, राज्य र विद्रोही पक्षबाट सर्वसाधारणले भोग्नुपरेका पीडा तथा द्वन्द्वका मानवीय परिणामहरूलाई मार्मिक रूपमा प्रस्तुत गरेका छन्। साथै पुस्तकमा लेखकले विशेष गरि पछिल्लो समयमा आफूलाई बामपंथी र कम्युनिस्ट भन्न रुचाउने पार्टी नेतृत्वले आफ्नो आदर्श,बिचार,सिद्धान्त र मूल्यबाट स्खलित भै आधारभुत गरिखाने भुइँतहका जनताबाट कट्दै जांदा नयाँ बर्गमा रुपान्तरित भएको,न्यूनतम प्रगतिशील भूमिका खेल्न समेत आनाकानी गरेको र नेता तथा कार्यकर्ता स्तरमा समेत आफ्नो पार्टीको न्यूनतम सिद्धान्त र दार्शनिक समझमा स्पष्टता तथा ज्ञान नभएको,कथनी र करनी बिच असंगति तथा तादात्म्यता नमिलेको जसले गर्दा सामाजिक मनोबिज्ञानमा समेत त्यसको असर र प्रभाव परेको बारेमा पनि गम्भीर ढंगले बिबेचना गरेका छन्।

पुस्तक पढ्दै गर्दा यस पंक्तिकार पनि पंचायती ब्यबस्था बिरोधि ०४६ सालको जन आन्दोलनमा कक्षा ९ मा पढ्दै गरेको विद्यार्थीको हैसियतले सचेत र जागरुक नभए पनि भाग लिएको,त्यही विद्यार्थी आन्दोलनको पृष्ठभूमि,प्यूठान जिल्लाको राजनीतिक जागरण अभियान ,माहोल र चेतनाको जग अधारमा त्यस यता देखी देशमा भैरहेका घटना प्रक्रिया,राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक चेतना जागरणका मुद्दाहरुमा चाख र अभिरुचि राख्दै स्वयं भोक्ता,पाठक र स्रोताको हिसाबले पनि लेखकले पुस्तकमा उठाएका मुद्दा बिषयबस्तु र स्वर आवाज प्रति ऐक्यबद्धता र समर्थनभाव जाहेर गर्दछ ।

त्यसैगरी पुस्तकमा हिजो एकापसमा सामुहिक भावनाका साथ सुखदुःख बाडेर,भातृत्व र बन्धुत्वका साथ मिलेर बसेको समाज आज कसरी बिभक्त हुदो छ?गाउँघरमा किन आज खेतीयोग्य र उब्जाउ जमिन समेत बाझो र खाली पडा राखी केबल शहरमा मात्र बसोबास गर्ने ध्याउन्ना विकसित हुँदो छ?यस प्रबृत्तिले सामाजिक मनोबिज्ञानमा के कस्तो असर पुर्याउदो छ? घर घडेरीको नाममा बिना योजना किन र कसरी उब्जाउ जमिन खण्डित र टुक्राटुक्रा बनाइदैछ?हरियाली जङ्गल कसरी दिनानुदिन बिनाश गरिदैछ?बिकासको नाममा गाउँतहमा कसरी डोजर आतंक खडा गरि कमजोर जमिन भत्क्याइदै छ?जसले गर्दा भूक्षय,बाढी पहिरो निम्त्याइदै छ?यस सम्बन्धमा लेखकले आजको समाजको वास्तविक बस्तुस्थितिको प्रतिबिम्ब उतार्ने कोशिस गरेका छन् ।

समग्रमा, ‘हजार माइलको बाटो’ नेपाली समाज, राजनीति र चेतनाको दीर्घ यात्राको साहित्यिक दस्तावेज हो। इतिहासका मोडहरू, राजनीतिक आन्दोलनका उपलब्धि र विचलन, तथा आम नागरिकका सपना र निराशालाई बुझ्न चाहने पाठकका लागि यो कृति अत्यन्त उपयोगी, पठनीय र सङ्ग्रहणीय छ। यसले विगतलाई सम्झँदै वर्तमानलाई बुझ्न र भविष्यप्रति जिम्मेवार दृष्टिकोण निर्माण गर्न महत्त्वपूर्ण वैचारिक खुराक प्रदान गर्छ।

सम्वन्धित समाचार