कविता

सहरका दोषीहरू

जनक विक       २ महिना अगाडी प्रकाशित     316 No Comments
📋 सारांश
  • आफ्नै सपना मेटाएर आज।
  • एक हातले नक्सा कोर्छ उसले।
  • अर्को हातले झुपडी मेट्न खोज्छ सधैँ।

महलमा रमाउनेहरूको
सपना बिगारीदिए रे
झुपडीमा बाँच्नेहरुले,
सपना बिगारेको आरोपमा
लखेटिँदै छन् सहरबाट
आफ्नै सपना मेटाएर आज।

एक हातले नक्सा कोर्छ उसले
अर्को हातले झुपडी मेट्न खोज्छ सधैँ
थाहा छैन सायद त्यो हातलाई
कस्तो हुन्छ मेटिँदा सपनाको आवाज
कस्तो हुन्छ अभावमा बाध्यताको चित्कार।

ठड्याउन चाहन्छ उसले
आइफल टावर आफ्नै सहरमा
सजाउन चाहन्छ उसले
ताजमहलको सुन्दर दृश्य
आफ्नै आँखा अगाडि
बुझाइदेऊ कसैले उसलाई
आइफल टावर र ताजमहल पनि
झुपटीका मजदुरहरु कै पसिनाले
ठडिएको हो भनेर।

सपना हराएर गाउँको अँध्यारोमा
खुसी खोज्दै सहरको उज्यालोमा
भौतारीरहेकाहरू
आज दोषी करार भएका छन्
बिगारेको आरोपमा उसको सहरलाई
मुद्दा हालेनन् कसैले अदालतमा
मुखुण्डो लगाएर मानवताको
मदर टेरेसा जत्तिकै साह्रै दयालु छ ऊ
धर्म निभाइरहेछ उसले
जुन उसको धर्म थियोे।

र तिमी पनि
नहार्नु कहिलै धर्म आफ्नो
नमार्नु कहिलै आशा आफ्नो
आज चम्किरहेको उज्यालो
तिम्रो नहुन सक्छ
तर भोलि
सूर्योदय अवश्य हुनेछ
जो सबैको साझा हुनेछ।

त्यतिबेला
न धनीहुनेछ, न गरिब
केवल मान्छे हुनेछ।।

-जनक विक
दाङ शान्तिनगर
१२ वैशाख २०८३।।

सम्वन्धित समाचार