काठमाडौं, वैशाख ३० ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह संसदमा उपस्थित हुनुपर्ने भन्दै सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’ को माग गरेको छ। प्रधानमन्त्रीले आफ्नो सट्टा अर्थमन्त्रीलाई जवाफ दिन पठाएपछि कांग्रेससहितका विपक्षी दलहरूले सदनमा विरोध जनाएका छन्।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको उपस्थिति विना सदनको कारबाही अघि बढ्न नसक्ने चेतावनी दिए। उनले भने, “संसदको छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य छ। उहाँ आउनुहुन्छ भन्ने विश्वासमा सभामुखले रुलिङ गरिदिनुपर्यो, अन्यथा हामी उभिरहन्छौं।”
जेनजी आन्दोलनका कारण संसद भवन सिंहदरबारभित्रै सारिएको छ, जहाँ प्रधानमन्त्री कार्यालय र बैठक हलको दूरी मात्र दुई सय मिटर छ। प्रधानमन्त्री सिंहदरबारमै भएर पनि संसदमा नआएकोमा विपक्षी सांसदहरूले कडा आपत्ति जनाएका छन्।
राप्रपाका ज्ञानेन्द्र शाहीले कटाक्ष गर्दै भने, “प्रधानमन्त्री सिंहदरबारमा कालो चश्मा लगाएर बस्नुभएको छ, जवाफ रत्नपार्कमा होइन संसदमा खोजिन्छ।” नेकपा एमालेकी सांसद पद्मा अर्यालले पनि प्रधानमन्त्री देशभित्रै र काममै रहेकाले बहानाबाजी नगरी सदनमा आउनुपर्ने बताइन्।
विपक्षीले संविधानको धारा ७६ (१०) अनुसार प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने व्यवस्थाको खिल्ली उडाइएको आरोप लगाएका छन्। एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले पटक-पटक संसदको ‘हुर्मत’ लिएको बताए।
यता, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने नियमावलीले प्रधानमन्त्रीलाई नै जवाफ दिन बाध्य नपारेको भन्दै बचाउ गरेको छ। तर, विपक्षीको अडानका कारण प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ भने प्रधानमन्त्रीको अनुत्तरदायी शैलीले लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाएको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।