देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार

बकपत्र संवाददाता       १ महिना अगाडी प्रकाशित     46 No Comments
📋 सारांश
  • काठमाडौँ -सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध 'रेड नोटिस' जारी गर्न इन्टरपोलले अस्वीकार गरेको छ।
  • अहिलेकै अवस्थामा नोटिस जारी गर्न आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले प्रहरीको अनुरोध फिर्ता पठाएको हो।
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौँले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

काठमाडौँ –सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलले अस्वीकार गरेको छ। अहिलेकै अवस्थामा नोटिस जारी गर्न आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले प्रहरीको अनुरोध फिर्ता पठाएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौँले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोही पुर्जीका आधारमा नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा खोजीका लागि इन्टरपोललाई पत्राचार गरेको थियो। तर, इन्टरपोलले देउवा दम्पतीविरुद्धको मूल कसुर स्पष्ट नदेखिएको र अनुसन्धानको प्रारम्भिक चरणमै रेड नोटिस जारी गर्न नमिल्ने जवाफ दिएको छ। उसले कुन–कुन कसुरमा अनुसन्धान भइरहेको हो र अनुसन्धान कुन अवस्थामा पुगेको हो भनी प्रश्न समेत उठाएको छ।

गत २४ भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा आक्रमण भएपछि देउवा दम्पतीलाई सेनाको सहयोगमा उद्धार गरिएको थियो। उपचारका लागि सिंगापुर गएका उनीहरू हाल हङकङमा रहेको अनुमान गरिए पनि यसको आधिकारिक पुष्टि भएको छैन। उनीहरू विदेशमै रहेका बेला सरकारले सम्पत्ति शुद्धीकरणको दायरामा ल्याएको थियो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, रेड नोटिस जारी गर्ने प्रक्रिया प्राविधिक कारणले रोकिएको हो। इन्टरपोलले राजनीतिक प्रतिशोध वा अपूर्ण कानुनी प्रक्रियाका आधारमा नोटिस जारी नगर्ने नीति लिएकाले देउवा दम्पतीको हकमा थप प्रमाण र स्पष्ट कसुर माग गरेको बुझिएको छ। आरोपीहरू देश बाहिरै रहेकाले अब विभागले उनीहरूमाथिको अनुसन्धान कसरी अगाडि बढाउँछ भन्ने विषय पेचिलो बनेको छ। सुरक्षा स्रोतका अनुसार आवश्यक प्रक्रिया र प्रमाण पुर्‍याएर पुनः अनुरोध गर्ने तयारी भइरहेको छ।

सम्वन्धित समाचार