भविष्यको मार्गदर्शन

पूर्वीय सभ्यता : अन्धविश्वास होइन, अनुभूत ज्ञानको विरासत

रामबहादुर जि.सी.       २ हप्ता अगाडी प्रकाशित     119 No Comments
📋 सारांश
  • सभ्यता भनेको केवल विगतको सम्झना होइन, भविष्यको मार्गदर्शन पनि हो।
  • हाम्रा पूर्वजहरूले हजारौं वर्षको जीवनयात्रामा भोगेका अकथनीय हन्डर–ठक्कर, संघर्ष, अनुभव, सफलता र असफलताबाट पूर्वीय सभ्यता, संस्कृति र दर्शनको जग निर्माण गरेका हुन्।
  • हाम्रा पूर्वजहरूले हजारौं वर्षको जीवनयात्रामा भोगेका अकथनीय हन्डर–ठक्कर, संघर्ष, अनुभव, सफलता र असफलताबाट पूर्वीय सभ्यता, संस्कृति र दर्शनको जग निर्माण गरेका हुन्।
सभ्यता भनेको केवल विगतको सम्झना होइन, भविष्यको मार्गदर्शन पनि हो।
हाम्रा पूर्वजहरूले हजारौं वर्षको जीवनयात्रामा भोगेका अकथनीय हन्डर–ठक्कर, संघर्ष, अनुभव, सफलता र असफलताबाट पूर्वीय सभ्यता, संस्कृति र दर्शनको जग निर्माण गरेका हुन्।
हाम्रा पूर्वजहरूले हजारौं वर्षको जीवनयात्रामा भोगेका अकथनीय हन्डर–ठक्कर, संघर्ष, अनुभव, सफलता र असफलताबाट पूर्वीय सभ्यता, संस्कृति र दर्शनको जग निर्माण गरेका हुन्। यो कुनै कल्पना वा अन्धविश्वासको उपज मात्र थिएन; बरु मानव जीवनलाई मर्यादित, अनुशासित, नैतिक तथा सहअस्तित्वमा आधारित बनाउने दीर्घकालीन अभ्यास, अनुभूति र चिन्तनको परिणाम थियो।

निस्सन्देह, त्यतिबेलाको समाज आजजस्तो वैज्ञानिक रूपमा विकसित थिएन। सीमित ज्ञान, चेतना र सामाजिक परिवेशका कारण केही रुढी, अन्धविश्वास र अवैज्ञानिक मान्यताले पनि परम्परामा स्थान पाउनु स्वाभाविक थियो। तर एउटा विशाल वृक्षका केही सुकेका हाँगा देखेर सम्पूर्ण वृक्ष नै काट्नु बुद्धिमानी हुँदैन। त्यसैगरी, केही विकृति र सीमितताका आधारमा सम्पूर्ण पूर्वीय दर्शन र संस्कृतिलाई अस्वीकार गर्नु पनि न त न्यायोचित हुन्छ, न त विवेकसम्मत।

हाम्रो सभ्यताले “वसुधैव कुटुम्बकम्” को सार्वभौमिक भाव सिकायो। प्रकृतिलाई मातासरह सम्मान गर्न प्रेरित गर्‍यो। परिवारलाई समाजको आधारस्तम्भ, गुरु–शिष्य परम्परालाई ज्ञानको सेतु तथा आत्मसंयम, करुणा, सत्य, कर्तव्य, सहिष्णुता र परोपकारलाई जीवनका आधारभूत मूल्यका रूपमा स्थापित गर्‍यो। यी मूल्यहरू केवल इतिहासका पानामा सीमित छैनन्; आज पनि उत्तिकै सान्दर्भिक, जीवनोपयोगी र समाज निर्माणका आधार हुन्।

साँचो प्रगतिशीलता भनेको आफ्नो इतिहास, संस्कृति र पहिचानलाई तिरस्कार गर्नु होइन; त्यसका जीवनोपयोगी पक्षलाई संरक्षण गर्दै समयानुकूल परिमार्जन गर्नु हो। सुधारको नाममा सम्पूर्ण परम्पराको निषेध गर्नु जति गलत हो, परिवर्तनको आवश्यकता हुँदाहुँदै अन्धरूपमा परम्परालाई जोगाइराख्नु पनि उति नै गलत हो। विवेकले स्वीकार्ने र विवेकले सुधार्ने संस्कार नै सभ्य समाजको पहिचान हो।

आज केही मानिसहरूले पूर्वीय दर्शनलाई केवल रुढीवाद र अन्धविश्वासको थुप्रोका रूपमा चित्रण गर्न खोजिरहेका छन्। तर कुनै पनि सभ्यताको मूल्याङ्कन त्यसका विकृतिका आधारमा होइन, मानव समाजलाई दिएको समग्र योगदानका आधारमा हुनुपर्छ। रुढीवादको विरोध गर्ने नाममा अर्को प्रकारको वैचारिक कट्टरता स्थापित गर्नु पनि अन्ततः रुढीवादकै नयाँ रूप बन्न पुग्छ।

हामीले विगतको अन्धानुकरण होइन, विवेकपूर्ण अनुकरण गर्नुपर्छ। आधुनिक विज्ञान र तर्कलाई आत्मसात् गर्दै पूर्वीय ज्ञानपरम्पराका जीवनोपयोगी मूल्यहरूलाई व्यवहारमा उतार्न सके मात्र समाज समृद्ध, अनुशासित, आत्मविश्वासी र सभ्य बन्न सक्छ।

आज हामीले गम्भीरतापूर्वक आफैलाई एउटा प्रश्न सोध्नुपर्ने बेला आएको छ—समाज दिनप्रतिदिन बढ्दो अराजकता, अनुशासनहीनता, सामाजिक विखण्डन, पारिवारिक विचलन र नैतिक अवमूल्यनतर्फ उन्मुख हुनुमा कतै हामीले आफ्नै सभ्यताले प्रतिपादन गरेका समाजशास्त्रीय, नैतिक र मानवशास्त्रीय मूल्यहरूलाई उपेक्षा गरेकै परिणाम त होइन? यो कुनै निष्कर्ष त होइन, तर गम्भीर बहस, आत्ममन्थन र अनुसन्धानको विषय अवश्य हो।

अन्ततः, आफ्नो सभ्यता, संस्कृति र इतिहासको सम्मान गर्न नसक्ने समाजले उज्ज्वल भविष्यको पनि बलियो जग निर्माण गर्न सक्दैन। सभ्य समाजको पहिचान अन्धविश्वासमा होइन; आफ्ना मौलिक मूल्यहरूको विवेकपूर्ण संरक्षण, निरन्तर परिष्कार र समयानुकूल रूपान्तरणमा हुन्छ। आफ्नो मौलिकतालाई जोगाउँदै आधुनिकताको आलोकमा अघि बढ्नु नै समुन्नत समाज निर्माणको सबैभन्दा विश्वसनीय मार्ग हो।

सम्वन्धित समाचार