मिसन र भिजन: ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ लाई मुख्य लक्ष्य बनाउँदै सम्पादकीय स्वतन्त्रताको रक्षा गर्ने प्रतिवद्धता सहित सञ्चालक खड्काले पत्रिकाको नियमित वैचारिक यात्रालाई थप उचाइ र गरिमा प्रदान गर्न सुशिल वस्नेत, सरिता भुसाल, राम बहादुर जिसी, सिर्जाना अस्तित्व, निर्मल नेपाली, कपिलदेव खड्का, जीवन हमाल, जनक विक, प्रतिमा अधिकारी, रचना मोक्तान “यात्री”, दिपक बोहरा, वंशीकुमार शर्मा लगायतका प्रतिष्ठित व्यक्तित्वहरूले पनि नियमित स्तम्भकारको रूपमा महत्वपूर्ण बौद्धिक योगदान पुर्याउनुहुने जानकारी दिनुभयो।
तुलसीपुर, दाङ । नेपाली डिजिटल सञ्चार जगतमा सत्य, तथ्य र निष्पक्ष सूचनाको संवाहक बन्ने दृढ संकल्पका साथ ‘बकपत्र मल्टिमिडिया प्रा.लि.’ द्वारा सञ्चालित अनलाइन न्यूज पोर्टल ‘बकपत्र डटकम’ (Bakpatra.com) को आज एक भव्य र सभ्य समारोहका बीच औपचारिक प्रशारण प्रारम्भ गरिएको छ। समाजका बहुआयामिक पक्षहरूलाई वस्तुनिष्ठ ढंगले उजागर गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अविचलित रूपमा उभिने अठोटका साथ यो अनलाइन सञ्चारमाध्यमले आफ्नो डिजिटल यात्राको ऐतिहासिक सुरुवात गरेको हो।
संस्थागत संरचना: आजाद खड्का (सञ्चालक/निर्देशक), हिमाल विक (प्रवन्ध सम्पादक), प्रकाश चौधरी (सम्पादक) र दीपकराज खड्का (कार्यकारी निर्देशक) को नेतृत्व।
कार्यक्रमको औपचारिक उद्घाटन गर्दै बकपत्र मल्टिमिडिया प्रा.लि.का अध्यक्ष एवं अनलाइनका निर्देशक/सञ्चालक आजाद खड्काले विशेष ‘प्रकाशकीय’ वाचन गर्नुभएको थियो। सो अवसरमा उहाँले बकपत्र डटकम केवल एउटा समाचार पोर्टल मात्र नभई यो समाजको दवेको आवाज, नागरिकको अधिकार रक्षाको सशक्त दस्तावेज र परिवर्तनको संवाहक बन्ने विश्वास दिलाउनुभयो। उद्घाटनको सोही विशेष क्षणमा सम्पादक प्रकाश चौधरीले अनलाइनको पहिलो ‘सम्पादकीय’ पोस्ट गर्दै डिजिटल पत्रकारिताको मूल्य, मान्यता र व्यावसायिक निष्ठामा रहेर समाजको वास्तविक ऐना बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको प्रारम्भिक चरणमा सञ्चालक समिति सदस्य एवं प्रवन्ध सम्पादक हिमाल विकले उपस्थित सम्पूर्ण अतिथि, स्तम्भकार तथा सञ्चारकर्मीहरूको परिचय गराउँदै सबैलाई स्वागत गर्नुभएको थियो।
संस्थागत संरचना: आजाद खड्का (सञ्चालक/निर्देशक), हिमाल विक (प्रवन्ध-सम्पादक), प्रकाश चौधरी (सम्पादक) र दीपकराज खड्का (कार्यकारी निर्देशक) को नेतृत्व।
बौद्धिक र वैचारिक बहसलाई उच्च प्राथमिकता दिने उद्देश्य बोकेको यस अनलाइनको शुभारम्भ कार्यक्रममा प्रबुद्ध स्तम्भकारहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रत्यक्ष सहभागी भई हौसला प्रदान गर्ने स्तम्भकारहरूमा राम बहादुर जिसी, भवानी न्यौपाने “भावना”, जनक विक, निर्मल नेपाली, बंशी कुमार शर्मा र दीपक बोहरा ‘सहचर’ रहनुभएको थियो। सञ्चालक खड्काले पत्रिकाको नियमित वैचारिक यात्रालाई थप उचाइ र गरिमा प्रदान गर्न सुशिल वस्नेत, सरिता भुसाल, राम बहादुर जिसी, सिर्जाना अस्तित्व, निर्मल नेपाली, कपिलदेव खड्का, जीवन हमाल, जनक विक, प्रतिमा अधिकारी, रचना मोक्तान “यात्री”, दिपक बोहरा, वंशीकुमार शर्मा लगायतका प्रतिष्ठित व्यक्तित्वहरूले पनि नियमित स्तम्भकारको रूपमा महत्वपूर्ण बौद्धिक योगदान पुर्याउनुहुने जानकारी दिनुभयो। यसरी समाजका विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको ज्ञान, अनुभव र दृष्टिकोणलाई बकपत्र डटकमले एउटै साझा मञ्चमा समेट्ने जमर्को गरेको छ।
एकीकृत सेवा: बकपत्र र डिजिनेप (MD विवेकराज खड्का) बीचको प्राविधिक र प्रशासनिक समन्वय मार्फत सेवा प्रवाह।
कम्पनीको संस्थागत संरचना र कार्यविभाजनबारे थप प्रष्ट पार्दै सञ्चालक खड्का र प्रवन्ध सम्पादक हिमाल विकले बकपत्र मल्टिमिडिया प्रा.लि.ले आफ्नो सेवालाई बहुआयामिक बनाउने बताउनुभयो। जसअन्तर्गत कम्पनीको अर्को महत्वपूर्ण अंगको रूपमा रहेको सूचना प्रविधि फर्म डिजिनेप (Digynep) को म्यानेजिङ डाइरेक्टर (MD) को भूमिकामा विवेकराज खड्का रहनुहुनेछ। कम्पनीका सम्पूर्ण प्रशासनिक नेतृत्व भने कार्यकारी निर्देशक दीपकराज खड्काले सम्हाल्नुहुनेछ। कार्यालयका कर्मचारीहरू दुवै अनलाइन प्लेटफर्म (बकपत्र र डिजिनेप) का लागि साझा हुने र उनीहरूले सामूहिक रूपमा प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय कार्यहरू सम्हाल्ने गरी प्रभावकारी संयन्त्र बनाइएको छ। कार्यकारी निर्देशक दीपकराज खड्का कार्यव्यस्तताका कारण हाल सूचना तथा प्रसारण विभाग, काठमाडौँमा रहनुभएकोले भौतिक रूपमा उपस्थित हुन नसके पनि उहाँले यो प्लेटफर्म निर्माणमा निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरिएको थियो।
बौद्धिक मञ्च: १० जना भन्दा बढी प्रबुद्ध स्तम्भकारहरूको नियमित संलग्नता रहने साझा मञ्चको रूपमा विकास।
कार्यक्रमलाई आत्मीय, संस्कारयुक्त र उल्लासमय बनाउन पारिवारिक वातावरणको समेत सिर्जना गरिएको थियो। सञ्चालक आजाद खड्काकी श्रीमती दीपाशिखा खड्काले उपस्थित सबै अतिथि तथा स्तम्भकारहरूलाई टीका लगाएर मङ्गलमय शुभकामना प्रदान गर्नुभएको थियो। उल्लासपूर्ण वातावरणमा नवीनराज खड्काले मिठाई वितरण गर्नुभएको थियो भने कार्यालयका कर्मचारीहरू अरुणिमा वली, सविता खड्का र जीविक परियारले सहभागीहरूलाई फलफूल वितरण गरेर स्वागत सत्कार गर्नुभएको थियो। कार्यक्रमको समापनमा उपस्थित स्तम्भकारहरूका गहकिला रचना तथा समसामयिक सामग्रीहरूलाई अनलाइन पोर्टलमा विधिवत अपलोड गरिनुका साथै बकपत्रको आधिकारिक फेसबुक पेजमार्फत साझा गरिएको थियो। समाजका हरेक वर्गको आवाजलाई समेट्ने र सम्पादकीय स्वतन्त्रताको रक्षा गर्दै समाजको सचेत बकपत्र बन्ने लक्ष्यका साथ यस अनलाइनले आजदेखि आफ्नो नियमित यात्रा सुनिश्चित गरेको छ।



बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।