नेपालको शिक्षा प्रणाली अहिले एउटा महत्वपूर्ण बहसको केन्द्रमा छ,विद्यालयलाई ६ दिनबाट ५ दिन बनाउने, अर्थात् आइतबार बिदा दिने प्रस्ताव। पहिलो नजरमा यो केवल “बिदा थप्ने” निर्णय जस्तो देखिए पनि, यसको गहिराइमा जाँदा यो शिक्षा प्रणालीको सोच, अभ्यास र प्राथमिकता परिवर्तन गर्ने अवसर हो।
मुख्य प्रश्न भने स्पष्ट छ,
के विद्यालयको समय घटाउँदा शिक्षा कमजोर हुन्छ, कि अझ प्रभावकारी बन्न सक्छ?
नेपालमा अधिकांश विद्यालयहरूमा वर्षमा करिब २०० भन्दा बढी दिन कक्षा सञ्चालन हुन्छ। तर अझै पनि एउटा पुरानो धारणा बलियो छ “जति धेरै समय पढायो, उति धेरै सिकिन्छ।” यही सोचका कारण घोकन्ते (rote learning) प्रणालीलाई प्राथमिकता दिइन्छ, जहाँ सिर्जनशीलता (creativity), जिज्ञासा र बुझाइलाई कम महत्त्व दिइन्छ। तर विश्वका सफल शिक्षा प्रणालीहरूले फरक सन्देश दिएका छन्। जस्तै Finland मा कम कक्षा समय भए पनि सिकाइको गुणस्तर उच्च छ, किनभने त्यहाँ “कति पढ्ने” भन्दा “किन र कसरी सिक्ने” भन्ने कुरामा जोड दिइन्छ।
त्यस्तै United States मा project-based learning र creativity लाई प्राथमिकता दिइन्छ। यी सबैको साझा लक्ष्य भनेको विद्यार्थी-केन्द्रित शिक्षा (student-centered learning) हो।
शिक्षा मनोविज्ञानले पनि यही कुरा पुष्टि गर्छ।
Cognitive Load Theory अनुसार मानव मस्तिष्कले एकैचोटि सीमित मात्र जानकारी प्रभावकारी रूपमा प्रशोधन गर्न सक्छ। धेरै समयसम्म लगातार पढाउँदा थकान बढ्छ र सिकाइको गुणस्तर घट्छ।
त्यस्तै, Abraham Maslow को Maslow’s Hierarchy of Needs ले भन्छ,जबसम्म विद्यार्थीले सुरक्षित, सम्मानित र मानसिक रूपमा सन्तुलित महसुस गर्दैन, तबसम्म प्रभावकारी सिकाइ सम्भव हुँदैन।

यसैले शिक्षा केवल जानकारी दिने प्रक्रिया होइन, यो मानसिक, भावनात्मक र सामाजिक विकासको यात्रा हो। नेपालको सन्दर्भमा हेर्दा, शिक्षा प्रणाली अझै धेरै हदसम्म घोकन्ते र परीक्षा-केन्द्रित छ। विद्यार्थीको सक्रिय सहभागिता कम छ, प्रश्न सोध्ने संस्कार कमजोर छ। तर सकारात्मक पक्ष पनि छन्,पछिल्लो समय debate, खेलकुद, कला र wellbeing कार्यक्रमहरू बढ्दै गएका छन्। यसको अर्थ, परिवर्तनको आधार तयार भइसकेको छ। यस्तो अवस्थामा ५ दिने विद्यालय प्रणालीले अवसर र चुनौती दुवै बोकेको छ।
अवसरहरू:
१.विद्यार्थीलाई आराम र मानसिक सन्तुलनका लागि समय
२.सिर्जनशीलता र आत्म-अध्ययन (self-learning) को विकास
३. शिक्षकलाई तयारी र reflection गर्ने अवसर
४. परिवारसँग गुणस्तरीय समय
चुनौतीहरू:
१. पाठ्यक्रम पूरा गर्ने दबाब
२. बिदाको दुरुपयोग (जस्तै अत्यधिक मोबाइल प्रयोग)
३. विद्यालयहरूबीच असमानता
४. कमजोर व्यवस्थापन भएमा सिकाइमा गिरावट
तर यहाँ एउटा महत्वपूर्ण कुरा छ,
समस्या “५ दिन” वा “६ दिन” होइन, समस्या “कसरी पढाउने” हो।
शिक्षाको एउटा अत्यन्तै महत्त्वपूर्ण तर प्रायः बेवास्ता गरिएको पक्ष भनेको wellbeing हो।
आजका विद्यार्थीहरू परीक्षा डर, सामाजिक तुलना, अभिभावकको अपेक्षा र डिजिटल विचलनसँग संघर्ष गरिरहेका छन्। यदि विद्यालयले केवल पाठ्यपुस्तकमा सीमित रह्यो भने विद्यार्थी “जान्ने” त हुन्छ, तर “बुझ्ने” र “जीवनमा प्रयोग गर्ने” क्षमता विकास हुँदैन।
त्यसैले आइतबार बिदा दिने निर्णय आफैंमा समाधान होइन,यो सुधारको अवसर मात्र हो।
यदि ५ दिने प्रणालीलाई सफल बनाउन चाहिन्छ भने:
कक्षालाई interactive र practical बनाउनु पर्छ
Efficiency मात्र होइन, Effectiveness मा ध्यान दिनुपर्छ
घोकन्ते होइन, बुझाइ र प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिनुपर्छ।विधार्थीलाई बढी भन्दा बढी searching गर्न लगाउनु पर्दछ।
शिक्षकलाई निरन्तर प्रशिक्षण र सहयोग दिनुपर्छ
wellbeing लाई पाठ्यक्रमको हिस्सा बनाउनु पर्छ
अभिभावकलाई पनि सचेत गराउनु पर्छ
अन्ततः, नेपालको शिक्षा प्रणालीलाई समय होइन, सोच परिवर्तन चाहिएको छ।
“धेरै पढाउनु” होइन, “अर्थपूर्ण सिकाउनु” आवश्यक छ।
यदि हाम्रो लक्ष्य केवल परीक्षा पास गराउने होइन,
विद्यार्थीलाई जीवनका लागि तयार गराउने हो भने,
५ दिन होस् वा ६ दिन, शिक्षा सफल हुन्छ।
किनभने शिक्षा समयको हिसाब होइन, अनुभवको गहिराइ हो।
