तुलसीपुरको ग्यारेजमा बस आगलागी

बकपत्र संवाददाता       ६ दिन अगाडी प्रकाशित     24 No Comments
📋 सारांश
  • दाङको तुलसीपुर ९ दोधरेस्थित एक ग्यारेजमा पार्किङ गरी राखिएको सार्वजनिक बसमा भीषण आगलागी भएको छ।
  • शनिबार साँझ ८ बजेतिर अचानक सल्किएको आगोका कारण भारतसम्म चल्ने गरेको रा १ ख ३०३८ नम्बरको डिलक्स बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।
  • इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीका अनुसार आगलागीको स्पष्ट कारण अझै खुल्न सकेको छैन।

तुलसीपुर, ९ जेठ ।

दाङको तुलसीपुर ९ दोधरेस्थित एक ग्यारेजमा पार्किङ गरी राखिएको सार्वजनिक बसमा भीषण आगलागी भएको छ । शनिबार साँझ ८ बजेतिर अचानक सल्किएको आगोका कारण भारतसम्म चल्ने गरेको रा १ ख ३०३८ नम्बरको डिलक्स बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीका अनुसार आगलागीको स्पष्ट कारण अझै खुल्न सकेको छैन ।

​ग्यारेजमा अन्य धेरै गाडीहरू गुडिरहेका वा मर्मतका लागि राखिएकाले ठूलो जोखिम सिर्जना भएको थियो । आगोको राँकोले नजिकै पार्क गरिएको अर्को एक बसमा समेत सामान्य क्षति पुर्‍याए पनि सुरक्षाकर्मी र स्थानीयको सक्रियताका कारण अन्य गाडीहरूमा आगो सल्किन पाएन ।

​आपत्कालीन अवस्थामा तुलसीपुरमा दमकल उपलब्ध नहुँदा आगो निभाउन निकै सकस भएको प्रहरीले जनाएको छ । दमकल नभएपछि नजिकै सञ्चालित जल सेवाको निजी पानी ट्याङ्कर मगाएर आगो नियन्त्रणको प्रयास गरिएको थियो । प्रहरी र स्थानीय बासिन्दाको अथक प्रयासपछि राति पौने १० बजेतिर मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । घटनाबारे क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने र आगलागीको कारण पत्ता लगाउने कार्यमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्वन्धित समाचार