कांग्रेसमा सहमतिको प्रयास: असन्तुष्ट पक्षलाई फकाउँदै सभापति गगन थापा

बकपत्र समाचार डेस्क       ३ हप्ता अगाडी प्रकाशित     27 No Comments
📋 सारांश
  • नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापाले सक्रियता बढाएका छन्।
  • विशेष महाधिवेशनमा सहभागी नभएका असन्तुष्ट पक्षसँग थापाले प्रत्यक्ष संवाद सुरु गरेपछि 'जेनजी' आन्दोलनलगत्तै किचलोमा फसेको कांग्रेसभित्र मेलमिलापको सम्भावना बढेको छ।
  • विशेष महाधिवेशनको वैधानिकतामाथिको कानुनी प्रश्नलाई गत वैशाख ४ गते सर्वोच्च अदालतले किनारा लगाउँदै वर्तमान नेतृत्वलाई वैधता दिने फैसला गरेको थियो।

काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापाले सक्रियता बढाएका छन्। विशेष महाधिवेशनमा सहभागी नभएका असन्तुष्ट पक्षसँग थापाले प्रत्यक्ष संवाद सुरु गरेपछि ‘जेनजी’ आन्दोलनलगत्तै किचलोमा फसेको कांग्रेसभित्र मेलमिलापको सम्भावना बढेको छ।

विशेष महाधिवेशनको वैधानिकतामाथिको कानुनी प्रश्नलाई गत वैशाख ४ गते सर्वोच्च अदालतले किनारा लगाउँदै वर्तमान नेतृत्वलाई वैधता दिने फैसला गरेको थियो। तर, कानुनी प्रश्न टुङ्गिए पनि राजनीतिक रूपमा पार्टी एकढिक्का हुन सकेको थिएन। पूर्व उपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला नेतृत्वको असन्तुष्ट समूहले पार्टीमा ‘सम्मानजनक उपस्थिति र समान व्यवहार’ को माग राख्दै आएका थिए।

बालुवाटार र गल्फुटारमा घनीभूत संवाद सहमतिको वातावरण बनाउन सभापति थापा मंगलबार डा. शेखर कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालय पुगेका थिए। कुनै समय कोइरालाकै प्यानलबाट महामन्त्री बनेका थापाले यसपटक सभापतिको हैसियतमा ‘वान टु वान’ संवाद गरे। भेटमा थापाले १५ औँ महाधिवेशनसम्म सबै पक्षलाई समेटेर लैजान आफू अधिकतम लचिलो हुन तयार रहेको बताएका थिए। नेता कोइरालाले भने ढिलो गर्दा पार्टीमा विभाजनको खतरा बढ्नेतर्फ सचेत गराउँदै एक हप्ताभित्रै ठोस निर्णय लिन सुझाएका छन्।

बुधबार सभापति थापा उपसभापति विश्वप्रकाश शर्मालाई साथै लिएर गल्फुटारस्थित पूर्णबहादुर खड्काको निवास पुगेका थिए। त्यहाँ खड्काले उपसभापति शर्मालाई बधाई दिँदै पार्टी एकताका लागि सभापतिले नै ठोस पहल लिनुपर्नेमा जोड दिए। खड्का नेतृत्वको समूहले साविक संस्थापनका नेताहरूको समायोजन र महाधिवेशनका लागि साझा संयन्त्र गठनलाई सहमतिको मुख्य सर्त बनाएको छ।

नेताहरू के भन्छन्? सभापति गगन थापाले संवाद सकारात्मक दिशामा अगाडि बढेको बताएका छन्। ‘संवाद सुरु भएको छ, पार्टीका सिनियर नेताहरूसँगको छलफल उत्साहजनक छ। सदस्यता अद्यावधिक र महाधिवेशनको मितिबारे देखिएका भ्रम स्पष्ट पारेको छु, कांग्रेस अब एकताबद्ध हुनेछ,’ थापाले नेपाल प्रेससँग भने।

यता, नेता डा. शेखर कोइरालाले पार्टी विभाजन कसैको हितमा नभएको उल्लेख गर्दै सबै पक्ष अटाउने गरी छिटो वातावरण बनाउन सभापतिलाई आग्रह गरेका छन्। ‘गगनजीलाई सहमतिका विकल्पहरू दिएको छु। ढिलो भयो भने मिल्नुहुँदैन भन्ने शक्तिहरूले खेल्ने मौका पाउँछन्, त्यसैले सबैलाई विश्वासमा लिएर छिटो टुङ्ग्याउनुपर्छ,’ कोइरालाले भने।

अहिले कांग्रेस केन्द्रीय समितिले ‘जरा अभियान’ मार्फत सदस्यता अद्यावधिक कार्य थालेको छ। यो अभियानमा असन्तुष्ट पक्षलाई पनि सहभागी गराउनु सभापति थापाका लागि मुख्य चुनौती र अवसर दुवै हो। पछिल्ला भेटघाटहरूले कांग्रेसभित्रको अविश्वास र आरोप-प्रत्यारोपको शृङ्खला अन्त्य गरी १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचार