काठमाडौँ — बलियो जनमत र दुईतिहाइको दम्भसहित गठन भएको प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकार र न्यायपालिकाबीचको टकराव सतहमा आएको छ । सर्वोच्च अदालतले करिब एक साताभित्रै सरकारका चारवटा महत्वपूर्ण र दूरगामी निर्णयहरूविरुद्ध अन्तरिम तथा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाइदिएको छ । यसअघि पनि सरकारका कतिपय कदममाथि अदालतले प्रश्न उठाउँदै रोक लगाएको थियो ।
अदालतको यो आक्रामक शैली र सरकारको अपरिपक्व कार्यशैलीका कारण यतिबेला ‘सरकारले प्रक्रिया नपुर्याई स्वेच्छाचारी निर्णय गरिरहेको छ कि न्यायिक सक्रियता एकाएक बढेको हो’ भन्नेबारे कानुनी र राजनीतिक वृत्तमा नयाँ बहस छेडिएको छ ।
सर्वोच्च अदालतले पछिल्लो समय जेठ १ गते मात्रै स्थल नाकाबाट सय रुपैयाँभन्दा बढीको सामान भित्र्याउँदा भन्सार शुल्क लिने सरकारको निर्णयमा रोक लगाउने अन्तरिम आदेश जारी गरेको छ । गत १९ चैतमा अर्थमन्त्री स्वर्णिम वाग्लेको संयोजकत्वमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले यो व्यवस्थामा कडाइ गर्ने निर्णय गरेको थियो । तर, न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सरकारको उक्त कदम तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
त्यसअघि, सरकारले केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको थियो । संसद् अधिवेशन स्थगन गरी अध्यादेशमार्फत ल्याइएको उक्त निर्णयविरुद्ध निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालसहितले दायर गरेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्यो । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँलको बहुमत रायले अध्यादेशमार्फत संसद्को अधिकार मिचिएको ठहर गर्दै रोक लगाएको हो ।
त्यस्तै, मन्त्रिपरिषद्ले गत १३ चैतमा स्वीकृत गरेको शासकीय सुधारका ‘एक सय कार्यसूची’ अन्तर्गत विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनको संरचना हटाउने निर्णय गरेको थियो । सोही आधारमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी र शिक्षामन्त्री सुमना पोखरेलसहितको बैठकले प्रतिबन्धको निर्णय गर्यो । तर, न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले ४ जेठमा दुवै पक्षलाई छलफलमा बोलाउँदै विद्यार्थी संगठनमाथिको प्रतिबन्ध कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दियो ।
यसैगरी, काठमाडौँका सुकुमवासी बस्ती खाली गराउन सुरक्षाकर्मी परिचालन गरी २४ वैशाखबाट सुरु गरिएको उठिबास अभियानलाई पनि सर्वोच्चले धक्का दिएको छ । २५ वैशाखमा न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले प्रक्रिया नपुर्याई र विस्थापितहरूको आवास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको वैकल्पिक व्यवस्थापन नगरी सुकुमवासी नहटाउन अन्तरिम आदेश जारी गरिदियो ।
अदालत र सरकारबीचको यो शीतयुद्ध प्रधानमन्त्री शाह नेतृत्वको संवैधानिक परिषद्ले २४ वैशाखमा वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेपछि झन् पेचिलो बनेको हो । परिषद्ले वरीयताक्रममा चौथो नम्बरमा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उनीभन्दा माथि रहेका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँललाई बाइपास गरिएपछि सर्वोच्च अदालतभित्रै तीव्र असन्तुष्टि चुलिएको छ ।
रोचक कुरा त के छ भने, सरकारको अध्यादेश खारेजीको निर्णय उल्ट्याउने अल्पकालीन अन्तरिम आदेश दिने बहुमत न्यायाधीशहरू (मल्ल, रेग्मी र फुयाँल) तिनै हुन्, जसको वरीयता मिचेर सरकारले शर्मालाई सिफारिस गरेको थियो ।
पूर्वन्यायाधीश कृष्णजंग रायमाझी भन्छन्:
”जब बलियो जनमतसहित सरकार आउँछ, त्यो अलि निरंकुश खालको हुन्छ, त्यसले प्रक्रिया मिच्छ । यसमा न्यायिक हस्तक्षेप र परीक्षण अदालतले नै गर्ने हो । वरीयता ख्याल नगरी गरिएको सिफारिसले परिस्थितिलाई झन् पेचिलो बनाएको छ ।”
सरकार र न्यायपालिकाबीचको दुरी कति बढेको छ भन्ने कुरा भर्खरै सम्पन्न कानुन दिवसको चियापान कार्यक्रममा प्रष्ट देखियो । कामु प्रधानन्यायाधीश मल्लले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति र सभामुख उपस्थित भए पनि प्रधानमन्त्री वालेन शाह र कानुनमन्त्री सोविता गौतम दुवै जना अनुपस्थित रहे ।
सोही कार्यक्रममा कामु प्रधानन्यायाधीश मल्लले “सरकारसँग दुईतिहाइ बहुमत भए पनि आफू नडराउने” र न्यायाधीशहरूलाई पनि “नडराई न्याय सम्पादन गर्न” निर्देशन दिइन् । त्यसको काउन्टरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेले सरकारको निर्णयको बचाउ गर्दै “आफूविरुद्ध सर्वोच्चमै हतियार रहेकाले प्रयोग गर्न” खुला चुनौती दिएका थिए ।
सरकारले आफ्नो शक्ति प्रदर्शन गर्ने क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री रमेश लेखकलाई २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बहानामा जरुरी पक्राउ पुर्जी दिएर समातेको थियो । तर, न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको इजलासले २३ चैतमा उनीहरूलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्दै थुनामुक्त गरिदियो ।
यति मात्र होइन, सम्पत्ति शुद्धीकरण र अन्य अभियोगमा समातिएका भीआईपीहरू पनि अदालतको आदेशले धमाधम छुटिरहेका छन् । पूर्वमन्त्री दीपक खड्का, उद्योगी शेखर गोल्छा, नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिक श्रेष्ठ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे र स्मार्ट सेलको लिलामी काण्डमा समातिएका आरोपितहरू सबै सर्वोच्च र जिल्ला अदालतको आदेश वा नजिरका आधारमा हिरासतमुक्त भइसकेका छन् ।
सर्वोच्चका एक न्यायाधीशका अनुसार, “ओली, लेखकसहितका बन्दीहरू सर्वोच्चको आदेशले छोड्नुपरेपछि सरकार आक्रोशित बनेको थियो । बलियो सरकारलाई सर्वोच्चले एकपछि अर्को काममा अवरोध गर्ने अनुमान गरेकै कारण सरकारले न्यायपालिकालाई साइजमा राख्न वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको हो ।”
पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह कार्यपालिकाको कामको न्यायिक परीक्षण गर्ने अधिकार संविधानले नै अदालतलाई दिएको बताउँछन् । उनी भन्छन्, “अदालत आफैं खोज्दै जाँदैन । कसैले रिट ल्याए संविधान र कानुन हेरेर निर्णय दिन्छ । सरकारले अपरिपक्व भएर निर्णय गर्दा अदालतले रोक्नुपर्छ ।”
वरिष्ठ अधिवक्ता राजु चापागाईं र विपिन अधिकारी पनि विद्यार्थी संगठनमाथिको प्रतिबन्ध वा सुकुमवासी व्यवस्थापन जस्ता दीर्घकालीन महत्वका विषयहरू कार्यकारीको एउटा निर्देशन वा अध्यादेशका भरमा नभई संसद्मा व्यापक छलफल गराएर कानुनमार्फत नियमन गरिनुपर्ने तर्क गर्छन् । सरकार जब स्वेच्छाचारी र कानुनी प्रक्रिया मिच्न उद्दत हुन्छ, तब अदालतले ब्रेक लगाउनु स्वाभाविक प्रक्रिया भएको उनीहरूको ठहर छ ।
निष्कर्ष:
पछिल्ला यी शृङ्खलाबद्ध आदेशहरूले वालेन शाह नेतृत्वको सरकारलाई कानुनी रूपमा ठूलो संकट र नैतिक दबाबमा पारेको छ । ‘पपुलिजम’ र दुईतिहाइको शक्तिको आडमा प्रक्रिया मिचेर द्रुत निर्णय गर्ने शाहको कार्यशैलीमाथि सर्वोच्च अदालतले बलियो ब्रेक लगाइदिएको छ, जसले गर्दा सरकार आफ्ना महत्वपूर्ण एजेन्डाहरू कार्यान्वयन गर्न नपाएर रक्षात्मक स्थितिमा पुगेको छ ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।