तुलसीपुर, २१ वैशाख | सल्यानमा आइतबार बेलुकी आएको तीव्र हावाहुरीसहितको वर्षाले जिल्लाका विभिन्न स्थानमा निजी तथा सरकारी भवनहरूमा व्यापक क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हावाहुरीले विद्यालय, स्वास्थ्य चौकी, अस्पतालदेखि सर्वसाधारणका घरको छाना उडाएको छ।
हावाहुरीले छत्रेश्वरी गाउँपालिका–४ स्थित कोर्बाङ झिम्पे स्वास्थ्य चौकी र शारदा नगरपालिका–२ स्थित जिल्ला अस्पताल सल्यानको इमर्जेन्सी वार्डको भवनको छाना उडाएको छ। यस्तै, बनगाड कुपिण्डे नगरपालिका–५ स्थित त्रिभुवन जनता माविको १८ वटा जस्तापाता र बाली विज्ञान प्रयोगशालाको टर्नेलमा समेत क्षति पुगेको छ।
प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–५ का गणेश डाँगी, शारदा नगरपालिकाका तारी रोका, गीता केसी र विष्णु कुमारी बुढाथोकीका कच्ची घरका छाना उडेका छन्। साथै, बागचौर र बनगाड कुपिण्डेका नन्दलाल वली, निमराज डाँगी, राजकुमार पुन र नन्दलाल रानाको घरमा पनि क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी एकाइमार्फत क्षतिको थप विवरण सङ्कलन भइरहेको जानकारी दिएको छ। अचानक आएको यो प्राकृतिक विपत्तिले सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।