काठमाडौँ — छिमेकी मुलुक भारतले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा यसको प्रत्यक्ष असर पर्ने आशंका उब्जिएको छ। भारतको वाणिज्य विभागले हिजो एक विशेष सूचना जारी गर्दै तत्काल लागू हुने गरी चिनी निर्यातमा रोक लगाएको जानकारी दिएको हो। आन्तरिक माग पूर्ति गर्न र मूल्य नियन्त्रण गर्न भारतले यो कदम चालेको बताइएको छ।
नेपालमा उपभोग हुने चिनीको ठूलो हिस्सा भारतबाटै आयात हुने गरेकाले नेपाली उपभोक्ताहरूमा आगामी दिनमा अभाव हुन सक्ने र मूल्य बढ्न सक्ने चिन्ता बढेको छ। विशेष गरी चाडपर्व नजिकिँदै गर्दा यस्ता निर्णयले बजारमा कृत्रिम अभाव सिर्जना हुने गरेको विगतको अनुभव छ।
तर, नेपाली चिनी उद्योगीहरूले भने तत्काल अत्तालिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। नेपाली चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार आउँदो मङ्सिर–पुससम्मका लागि नेपालसँग पर्याप्त मौज्दात छ। यस वर्षको उखु क्रसिङ सिजनमा नेपालमा करिब २ लाख मेट्रिक टन चिनी उत्पादन भएको छ। साथै, सरकारी तथ्याङ्क अनुसार नै हालसम्म ७५ देखि ८० हजार मेट्रिक टन चिनी आयात भइसकेको छ। यस मौज्दातले कम्तीमा ७–८ महिनाको माग धान्न सक्ने उद्योगीहरूको प्रक्षेपण छ।
अध्यक्ष अग्रवालले अन्य खाद्यवस्तुको तुलनामा चिनीको मूल्यवृद्धि स्थिर रहेको दाबी गर्दै उपभोक्तालाई नआत्तिन आग्रह गर्नुभएको छ। यद्यपि, बजारमा बिचौलियाहरूले भारतको प्रतिबन्धलाई बहाना बनाएर मूल्य बढाउन सक्ने तर्फ सरोकारवालाहरूले सचेत गराएका छन्। सरकारले चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालोबजारी रोक्न प्रभावकारी अनुगमन गर्नुपर्ने माग पनि उठेको छ।
यसैबीच, स्वास्थ्यकर्मीहरूले भने चिनीको उपभोग कम गर्नु नै बुद्धिमानी हुने सल्लाह दिएका छन्। प्रशोधित चिनी र चिनीजन्य खाद्यवस्तुको बढी प्रयोगले मधुमेह, मोटोपना र मुटु रोगको जोखिम बढाउने भएकाले स्वास्थ्यको दृष्टिकोणले यसको विकल्प खोज्नु उपयुक्त हुने चिकित्सकहरूको भनाइ छ। बजारमा अभावको चर्चा भइरहँदा स्वास्थ्य सचेतनाका हिसाबले यो निर्णयलाई सकारात्मक रूपमा लिनेहरूको संख्या पनि उल्लेख्य छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।