नेकपाको एकता राष्ट्रिय महाधिवेशन मंसिरमा, युवा सहभागिता ५० प्रतिशत पुर्‍याइने

बकपत्र संवाददाता       ४ हप्ता अगाडी प्रकाशित     105 No Comments
📋 सारांश
  •  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो एकता राष्ट्रिय महाधिवेशनको औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ।
  • पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।
  • महाधिवेशनमार्फत सबै तहका कमिटीहरूमा ५० प्रतिशत युवा र 'जेनजी' (Gen-Z) को सहभागिता सुनिश्चित गरिने ६ बुँदे कार्ययोजना सार्वजनिक गरिएको छ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो एकता राष्ट्रिय महाधिवेशनको औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता प्रकाश ज्वालाले शनिबार जारी गरेको विज्ञप्तिअनुसार, नेकपाले तल्लो तहदेखि नै सांगठनिक संरचनालाई मजबुत बनाउँदै महाधिवेशनको तयारी गर्ने रणनीति लिएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा असार र साउन महिनाभित्र देशभर पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गरिने कार्यतालिकामा उल्लेख छ।

अधिवेशनका मुख्य चरणहरू: पार्टीले वडादेखि प्रदेशसम्मका अधिवेशनका लागि समयसीमा तोकेको छ:

  • वडा अधिवेशन: भदौ १५ गतेभित्र।
  • पालिका अधिवेशन: भदौ १६ देखि मसान्तसम्म।
  • जिल्ला अधिवेशन: असोज मसान्तभित्र।
  • प्रदेश अधिवेशन: कात्तिक १५ गतेभित्र।

यी सबै तहका अधिवेशनहरू सम्पन्न भएपछि मंसिर ११ गते काठमाडौँमा भव्य रूपमा राष्ट्रिय महाधिवेशन सुरु हुने प्रवक्ता ज्वालाले जानकारी दिएका छन्।

युवा र जेनजीलाई विशेष प्राथमिकता: पार्टीले यस पटक साङ्गठनिक संरचनामा आमूल परिवर्तनको योजना अघि सारेको छ। महाधिवेशनमार्फत सबै तहका कमिटीहरूमा ५० प्रतिशत युवा र ‘जेनजी’ (Gen-Z) को सहभागिता सुनिश्चित गरिने ६ बुँदे कार्ययोजना सार्वजनिक गरिएको छ। यसले पार्टीलाई प्रविधिमैत्री, आधुनिक र गतिशील बनाउने लक्ष्य राखेको छ।

महाधिवेशनले पार्टीभित्र वैचारिक, राजनीतिक र सांगठनिक स्पष्टता कायम गर्ने विश्वास लिइएको छ। यसका लागि आवश्यक वैचारिक दस्ताबेज, राजनीतिक प्रतिवेदन र साङ्गठनिक कार्यविधिहरू केन्द्रीय कार्यसमिति बैठकले छिट्टै तयार पार्ने निर्णय समेत भएको छ। पुराना र नयाँ पुस्ताबीचको फ्युजनमार्फत पार्टीलाई थप सुदृढ बनाउन यो महाधिवेशन कोसेढुङ्गा सावित हुने नेकपाले दाबी गरेको छ

सम्वन्धित समाचार