तुलसीपुर, २२ वैशाख । सल्यानका जेनजी संयोजक युवराज खड्काविरुद्ध जिल्ला अदालतले साइबर अपराधको कसूरमा पक्राउ पुर्जी जारी गरेको एक हप्ता बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन। खड्कामाथि सरकारी कार्यालयमा पसेर धाकधम्की दिने तथा सामाजिक सञ्जालमार्फत जनप्रतिनिधि र कर्मचारीको चरित्र हत्या गरेको गम्भीर आरोप छ।
खड्का पक्राउ नपर्नुमा उनको उच्च राजनीतिक पहुँचलाई मुख्य कारण मानिएको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्री बनेका बालेन्द्र (बालेन) शाहका स्वकीय सचिव तथा रास्वपा महामन्त्री भूपदेव शाहसँग अत्यन्तै निकट मानिन्छन्। शक्तिकेन्द्रसँगको यही सामीप्यता र ‘पावर’ का आधारमा प्रहरीले उनलाई पक्राउ गर्न आलटाल गरिरहेको आरोप लागेको छ।
बालेनको सचिवालय र रास्वपाको शक्तिको आडमा उनले जनप्रतिनिधिसँग नाजायज सहयोग माग्ने र नदिए फेसबुकमा गालीगलौज गर्ने गरेको आरोपमा बागचौर नगरपालिकाका मेयर जनकराज गौतमले जाहेरी दिएका थिए। सोही आधारमा अदालतका श्रेस्तेदार कमलराज आचार्यले पक्राउ अनुमति दिइएको पुष्टि गरे पनि राजनीतिक संरक्षणकै कारण उनी हालसम्म कानुनको दायरा बाहिरै छन्।
यता, आरोपी खड्काले भने आफूले अवैध काठ ओसारपसारविरुद्ध आवाज उठाएका कारण प्रतिशोध साध्न फसाइएको दाबी गर्दै आएका छन्। तर, पक्राउ पुर्जी जारी भइसक्दा पनि प्रधानमन्त्रीको सचिवालयसँगको निकटताकै कारण उनी खुल्ला हिँडिरहनुले विधिको शासनमाथि नै गम्भीर प्रश्न उठाएको छ। सल्यान प्रहरीले भने पुर्जी जारी भए पनि पक्राउ पर्न नसक्नुको ठोस कारण स्पष्ट पार्न सकेको छैन।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।