काठमाडौँ, २०८३ जेठ १
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले काठमाडौँको माइतीघर मण्डलमा बृहत विरोध प्रदर्शन गरेको छ। विगत लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई विकल्पबिना हटाउन खोजिएको भन्दै मोर्चाले सडक आन्दोलन चर्काएको हो।
प्रदर्शनकारीहरूले भूमिहीन सुकुम्बासीको संवैधानिक हकको रक्षा गर्न, बसोबासको ग्यारेन्टी गर्न र विस्थापित गर्नुअघि उचित क्षतिपूर्तिसहित पुनर्वासको व्यवस्था मिलाउन माग गरेका छन्।
आन्दोलनमा सहभागी सुकुम्बासीहरूले काठमाडौँ महानगरपालिका र सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए। उनीहरूले हातमा विभिन्न माग अंकित प्लाकार्डहरू बोकेका थिए, जसमा लेखिएको थियो:
मोर्चाका प्रतिनिधिहरूका अनुसार, सरकारले भूमि आयोगमार्फत सुकुम्बासीका समस्या समाधान गर्नुको सट्टा शक्ति प्रयोग गरेर उनीहरूलाई घरबारविहीन बनाउन खोजेको आरोप लगाएका छन्। “हामी विकासको विरोधी होइनौँ, तर विकल्पबिना हाम्रो उठीबास लगाउन पाइँदैन,” प्रदर्शनमा सहभागी एक आन्दोलनकारीले भने। उनीहरूले अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त बमोजिम आवासको हक सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
काठमाडौँ महानगरपालिकाले नदी किनारका अतिक्रमण हटाउने र सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई तीव्रता दिएसँगै सुकुम्बासी बस्तीहरूमा त्रास फैलिएको छ। माइतीघरको प्रदर्शनका कारण केही समय सो क्षेत्रको यातायात व्यवस्था समेत प्रभावित भएको थियो।
सुकुम्बासी मोर्चाले आफ्ना मागहरू पूरा नभए देशभरका भूमिहीनहरूलाई समेटेर सिंहदरबार घेराउ गर्ने जस्ता कडा संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्ने जनाएको छ। स्थानीय प्रशासनले भने शान्ति सुरक्षा कायम राख्न ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।