रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा बिहीबार दिउँसो भएको भीषण जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाकै सनाखत भएको छ । रुकुम पूर्वबाट रोल्पाको प्रसिद्ध पर्यटकीय एवं धार्मिक स्थल जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप सडकबाट खसेर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार उक्त दुर्घटनामा परी ज्यान गुमाउनेमा दाङका ७ जना रहेका छन्, जसले गर्दा दाङको घोराही र शान्तिनगर क्षेत्र शोकमग्न बनेको छ ।
मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१६ बुद्धचोक निवासी एकै परिवारका सदस्य र आफन्तहरू धेरै रहेका छन् । प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार घोराही–१६ की ५० वर्षीया द्रोपती जि.सी, ३२ वर्षीया तिला जि.सी, २५ वर्षीया एलिसा घर्ति, १२ वर्षीया जेनिसा जि.सी र ७ वर्षीय बालक जेनिस घर्तिको मृत्यु भएको छ । त्यस्तै, दाङकै घोराही–१२ गुर्जे निवासी भनमाया बिष्ट र जिप चालक दाङको शान्तिनगर गाउँपालिका घर भई हाल रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा बस्ने ४२ वर्षीय बेदु राम बि.क.को पनि दुर्घटनामा ज्यान गएको छ ।
दुर्घटनामा रुकुम पूर्वका ११ जना र लम्जुङका २ जनाको पनि मृत्यु भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ का २८ वर्षीय गोर्ख बहादुर बि.सी, ५३ वर्षीया तिल कुमारी बुढाथोकी, २८ वर्षीया युवा बुढाथोकी, १० वर्षीय दिब्यान बुढाथोकी, ६० वर्षीया मिना बि.क र ६० वर्षीया लक्ष्मी शाहको मृत्यु भएको छ । यस्तै, धाउन्ने अन्टी बस्ने २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदिप बुढाथोकी र ४० वर्षीया ओम कुमारी बुढाथोकीको पनि ज्यान गएको प्रहरीले जनाएको छ । भुमे गाउँपालिका–५ का टेक प्रसाद बुढा र २७ वर्षीया रुक्मिना थापा बस्नेत तथा लम्जुङका ७ वर्षीय संयोग थापा र यम बहादुर जि.सी.को पनि यसै दुर्घटनामा निधन भएको छ ।
जिपमा सवार २१ जनामध्ये ३२ वर्षीय समिर कामी मात्र जीवित रहन सफल भएका छन् । रुकुम पूर्व सिस्ने–५ का कामीको आधारभूत जलजला अस्पताल थवाङमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेको छ । वैशाखको सुरुवातमै जलजला घुम्न निस्किएका यात्रुहरू दुर्घटनामा परेपछि यस क्षेत्रकै वातावरण स्तब्ध बनेको छ । तीव्र गति वा प्राविधिक कारणले जिप दुर्घटना भएको हुन सक्ने अनुमान गरिए पनि प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।