राष्ट्रिय परिचयपत्रको सिस्टम सात दिनदेखि ठप्प, सेवाग्राही मर्कामा

बकपत्र संवाददाता       ३ हप्ता अगाडी प्रकाशित     38 No Comments
📋 सारांश
  • काठमाडौँ, २८ वैशाख ।
  • राष्ट्रिय परिचयपत्रको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याका कारण एक सातादेखि सेवाग्राहीले चरम सास्ती भोगिरहेका छन्।
  • गत वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समस्या देखिएपछि देशभरका सेवा प्रभावित भएका हुन्।

काठमाडौँ, २८ वैशाख ।

राष्ट्रिय परिचयपत्रको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याका कारण एक सातादेखि सेवाग्राहीले चरम सास्ती भोगिरहेका छन्। गत वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समस्या देखिएपछि देशभरका सेवा प्रभावित भएका हुन्।

प्रणाली अवरुद्ध हुँदा व्यक्तिगत विवरण सच्याउने, नयाँ जन्मदर्तासँगै प्राप्त हुने परिचयपत्र नम्बर लिने र सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि बायोमेट्रिक रुजु गर्ने जस्ता महत्वपूर्ण कार्यहरू पूर्णतः रोकिएका छन्। विशेषगरी भत्ता नवीकरण गर्न आएका ज्येष्ठ नागरिक र राहदानीका लागि विवरण रुजु गराउनुपर्ने सेवाग्राही बढी मर्कामा परेका छन्।

नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालले सिस्टममा आएको प्राविधिक समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर लागिरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “समस्या पहिचान गरी समाधान गर्ने प्रयास भइरहेको छ, सकेसम्म चाँडै सेवा सुचारु गर्ने गरी काम गरिरहेका छौँ।”

लामो समयसम्म सिस्टम नचल्दा पनि वैकल्पिक व्यवस्था नभएको भन्दै सेवाग्राहीले आक्रोश व्यक्त गरेका छन्। सरकारले धेरैजसो सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरे पनि प्राविधिक पूर्वाधार कमजोर हुँदा सर्वसाधारणले अनाहकमा दुःख पाउने क्रम बढेको छ। प्रशासनले प्राविधिक अवरोध नहटेसम्म धैर्य गर्न आग्रह गरेको छ।

सम्वन्धित समाचार