‘के हुँदैछ यस्तो मित्र?’ : प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति विश्वप्रकाशको रविमाथि कटाक्ष

बकपत्र संवाददाता       २ हप्ता अगाडी प्रकाशित     29 No Comments
📋 सारांश
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहको संसदीय व्यवहार र सत्तारूढ गठबन्धनको समन्वयमाथि गम्भीर प्रश्न उठाएका छन्।
  • बुधबार प्रधानमन्त्री शाह आफ्नै सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन संसदमा उपस्थित नभएपछि शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन्।
  • ​प्रतिनिधि सभामा प्रधानमन्त्रीले आफैँ जवाफ दिनुपर्ने संसदीय परम्परा र संवैधानिक दायित्वलाई लत्याउँदै उनको सट्टा अर्थमन्त्री डा।

काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहको संसदीय व्यवहार र सत्तारूढ गठबन्धनको समन्वयमाथि गम्भीर प्रश्न उठाएका छन्। बुधबार प्रधानमन्त्री शाह आफ्नै सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन संसदमा उपस्थित नभएपछि शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन्।

​प्रतिनिधि सभामा प्रधानमन्त्रीले आफैँ जवाफ दिनुपर्ने संसदीय परम्परा र संवैधानिक दायित्वलाई लत्याउँदै उनको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रोस्ट्रममा उत्रिएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। यसै सन्दर्भमा उपसभापति शर्माले लामिछानेलाई मित्र सम्बोधन गर्दै सोधेका छन्— “के हुँदैछ यस्तो मित्र? के यहाँको समन्वयमा हुनुहुन्छ प्रधानमन्त्री?”

संसदीय पद्धति र नागरिक निराशाको चिन्ता

​उपसभापति शर्माले संसदीय प्रणालीको गरिमा नेताहरूको व्यवहारमा निर्भर हुने उल्लेख गर्दै वर्तमान सरकारको कार्यशैलीले प्रणाली र देशको हित नगर्ने चेतावनी दिएका छन्। उनले गत फागुन २१ गते बनेको नयाँ समीकरणको विश्वास भत्किँदै गएको र यसले नागरिकमा निराशा छरेको टिप्पणी गरेका छन्।

​उनले एक्स (ट्विटर) मा लेखेका छन्:

“संसदीय पद्धति आफै सुन्दर बन्दैन, निर्भर हुन्छ हाम्रो व्यवहारमा। ‘फागुन २१’ को विश्वास भत्काउँदै नागरिकमा निराशा छर्दा प्रणाली र देशको हित हुन सक्दैन, सजग बन्नुस्/बनाउनुस्। पूर्वाग्रह बिना खुला सुझाव।”

किन आक्रोशित छ प्रतिपक्ष?

​आजको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने मुख्य कार्यसूची प्रधानमन्त्रीको थियो। तर, प्रधानमन्त्री सिंहदरबारमै भएर पनि दुई सय मिटर परको संसद भवनमा नगई जवाफ दिने जिम्मा अर्थमन्त्रीलाई सुम्पिएपछि विपक्षी दलहरू रुष्ट भएका हुन्।

​यसअघि बैठकको सुरुवातमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, एमाले र राप्रपाका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै सदन अवरुद्ध गरेका थिए। जसका कारण बैठक १५ मिनेटका लागि स्थगित समेत भएको थियो।

समन्वयको अभाव कि स्वेच्छाचारिता?

​शर्माको यो प्रश्नले सत्ता साझेदार दलहरूबीच खासगरी प्रधानमन्त्री बालेन शाह र रास्वपाबीचको आन्तरिक समन्वयमाथि पनि आशंका उब्जाएको छ। रास्वपाले सदनमा प्रधानमन्त्रीको बचाउ गरिरहँदा कांग्रेसले भने यसलाई ‘अधिनायकवादी’ र ‘अनुत्तरदायी’ शैलीको संज्ञा दिएको छ।

​प्रधानमन्त्री नियुक्त भएयता एक पटक पनि संसदलाई सम्बोधन नगरेका बालेनले नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण घडीमा पनि सदन छलेपछि उपसभापति शर्माले रास्वपा सभापति लामिछानेलाई ‘सजग बन्न र बनाउन’ सुझाव दिएका हुन्। यो घटनाले सत्तापक्ष र प्रतिपक्षबीचको दूरी मात्र बढाएको छैन, ३६ वर्षीय युवा प्रधानमन्त्रीको संसदीय जवाफदेहितामाथि समेत ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ।

सम्वन्धित समाचार