काठमाडौँ, १६ वैशाख । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ। विभागले इन्धनको मूल्यमा भएको भारी वृद्धिलाई मुख्य आधार मान्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा ५ प्रतिशतले भाडा बढाउने निर्णय गरेको हो। यो नयाँ भाडादर आजैका मितिदेखि लागू हुने गरी सार्वजनिक गरिएको छ।
विभागले जारी गरेको अत्यन्त जरुरी सूचना अनुसार, पछिल्लो पटक भाडा समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर रु. १८०.८३ (एक सय असी रुपैयाँ ८३ पैसा) कायम थियो। तर, पछिल्लो समय नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पटक–पटक वृद्धि गरेसँगै हाल डिजेलको औसत बजार मूल्य प्रतिलिटर रु. २३५.८३ (दुई सय पैंतीस रुपैयाँ ८३ पैसा) पुगेको छ। यसरी अघिल्लो समायोजनको तुलनामा डिजेलको मूल्यमा ३०.४१ प्रतिशतको अप्रत्याशित वृद्धि भएपछि विभागले भाडा बढाउने निर्णय गरेको हो।
वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडादर समायोजन गर्ने व्यवस्था रहेको छ। सोही व्यवस्था र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मिति २०८१/०१/१२ को सैद्धान्तिक सहमतिका आधारमा विभागले भाडा वृद्धि गरेको हो।
समायोजन पछिको नयाँ दर निम्न अनुसार रहेको छ:
विभागका अनुसार यो नयाँ भाडादर दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय स्तरका रुट (लामो दूरी) मा मात्र लागू हुनेछ। तर, विद्युतीय सवारी साधनको हकमा भने पुरानै भाडादर कायम रहने स्पष्ट पारिएको छ। इन्धनको मूल्यमा भएको यो वृद्धिसँगै अब लामो दूरीको यात्रा र सामान ढुवानी महँगो हुने भएको छ, जसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सा र दैनिक जनजीवनमा पर्ने देखिन्छ।
यातायात व्यवस्था विभागले सबै यातायात व्यवसायी र सरोकारवालाहरूलाई नयाँ भाडादर पालना गर्न र गराउन निर्देशन दिएको छ। तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ। विस्तृत भाडासूची विभागको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।