बहुमतको अहंकारले महिलामाथि हिंसा भयो: सांसद कमला पन्त

बकपत्र संवाददाता       ३ हप्ता अगाडी प्रकाशित     31 No Comments
📋 सारांश
  • काठमाडौँ, २८ वैशाख ।
  • नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले प्रधानमन्त्री बालेन शाहले अध्यादेश र अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गरेको आरोप लगाउनुभएको छ।
  • सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले प्रधानन्यायाधीश सिफारिस प्रकरणलाई लिएर प्रधानमन्त्री शाहप्रति कडा कटाक्ष गर्नुभएको हो।

काठमाडौँ, २८ वैशाख ।

नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले प्रधानमन्त्री बालेन शाहले अध्यादेश र अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गरेको आरोप लगाउनुभएको छ। सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले प्रधानन्यायाधीश सिफारिस प्रकरणलाई लिएर प्रधानमन्त्री शाहप्रति कडा कटाक्ष गर्नुभएको हो।

पन्तले प्रधानमन्त्रीले बहुमतको अहंकार देखाएर एक सक्षम महिला प्रधानन्यायाधीशमाथि प्रहार गरेको दाबी गर्नुभयो। “कुनै दिन आफ्नी श्रीमतीसँग जोडिएको घटनामा संवेदनशील भएर सामाजिक सञ्जालमा नानाभाँती लेख्ने प्रधानमन्त्रीले आज अर्को सक्षम महिलामाथि अहंकार प्रदर्शन गर्दा समग्र महिलाको मन दुखेको छ,” उहाँले भन्नुभयो। निमित्त चलाइसकेकी सिनियर महिलालाई पाखा लगाउनु ‘जघन्य महिला हिंसा’ भएको पन्तको ठम्याइ छ।

सरकारले परिवर्तनको नारा दिएर सत्तारोहण गरे पनि पहिलो गाँसमै अध्यादेशमार्फत संवैधानिक परिषद्को कार्यविधिमा पुरानै चलखेललाई उछिन्ने गरी ‘पराक्रम’ देखाएको उहाँले टिप्पणी गर्नुभयो। यो कदमले सर्वोच्च अदालतको गरिमा, सम्मान र भरोसामाथि प्रहार गर्ने नियत छर्लङ्ग पारेको पन्तको तर्क छ। “यसबाट नेपाली न्यायिक क्षेत्रको निष्पक्ष आकाशमा दूरगामी गलत अभ्यासको धब्बाको विजारोपण भएको छ,” उहाँले थप्नुभयो।

सांसद पन्तले वर्तमान सरकारले न्यायिक क्षेत्रमा गरेको यो हस्तक्षेपले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर बनाएको उल्लेख गर्नुभयो। प्रधानन्यायाधीश सिफारिसमा भएको ढिलाइ र अध्यादेशमार्फत गरिएको कार्यविधि परिवर्तनले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको उहाँको भनाइ छ। यस प्रकरणले महिला नेतृत्वलाई स्वीकार गर्न नसक्ने संकीर्ण मानसिकता प्रदर्शन गरेको भन्दै उहाँले खेद प्रकट गर्नुभयो।

सम्वन्धित समाचार