घोराही, दाङ दाङको घोराही उपमहानगरपालिकास्थित अम्बापुर जग्गा एकीकरण आयोजना क्षेत्रमा पछिल्लो समय जग्गा बाँडफाँडको विषयलाई लिएर विवाद चर्किएको छ । नवलपुर बहुद्देश्यीय सरोकार समिति र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको भनिएको पछिल्लो सम्झौताप्रति स्थानीय जग्गाधनीहरूले तीव्र असन्तुष्टि जनाउँदै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।
बिहीबार नवलपुरबासी उपभोक्ता तथा जग्गाधनीहरूको भेलाले सुभाष पोख्रेलको संयोजकत्वमा ‘अम्बापुर जग्गा एकीकरण आयोजना संघर्ष समिति’ गठन गरी आफ्नो आधिकारिक विरोध सुरु गरेको हो । नवगठित संघर्ष समितिले आजै घोराही नगर विकास समितिलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै उक्त विवादित सम्झौता कार्यान्वयन नगर्न चेतावनी दिएको छ ।
संघर्ष समितिले बुझाएको ज्ञापनपत्र अनुसार, गत २०८३ वैशाख १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति, रजिस्ट्रार प्रा. श्याम लम्साल र नवलपुर बहुद्देश्यीय सरोकार समिति तथा आयोजनाका अध्यक्ष भनिएका बलिभद्र रानाबीच एक ‘पूरक सम्झौता’ भएको थियो । उक्त सम्झौतामा प्रतिष्ठान र कटुवा खोलाबीच बसोबास गरिरहेका करिब १५० सुकुम्बासी परिवारलाई व्यवस्थित गर्न अम्बापुर जग्गा एकीकरण आयोजना मातहतको जग्गाबाट प्रत्येक घरधुरीलाई ५/५ धुरका दरले घडेरी उपलब्ध गराउने उल्लेख गरिएको बुझिएको छ ।
यस निर्णयले स्थानीय जग्गाधनीहरूलाई आक्रोशित तुल्याएको छ । संघर्ष समितिका संयोजक पोख्रेलका अनुसार, आयोजनाको ४० प्रतिशत जग्गा स्थानीय जग्गाधनीहरूकै हिस्सा हो, जुन केवल पूर्वाधार विकास (सडक, पार्क, ढल, खुला क्षेत्र) का लागि मात्र प्रयोग गर्ने पूर्वसहमति र उद्देश्य रहेको थियो ।
ज्ञापनपत्रमा स्थानीयले निम्न बुँदाहरूमा आफ्नो गम्भीर असहमति राखेका छन्:
संघर्ष समितिले आज बुझाएको ध्यानाकर्षण पत्रलाई आन्दोलनको पहिलो चरण बताएको छ । समितिका संयोजक पोख्रेलले भने, “यदि यो गैरकानुनी र स्वेच्छाचारी सम्झौतालाई तत्काल खारेज गरिएन र जग्गाधनीहरूको हित विपरीतका काम अघि बढाइयो भने हामी कडाभन्दा कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ ।”
समितिले उक्त ध्यानाकर्षण पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, दाङ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत दिएको छ । “हाम्रो नवलपुर, राम्रो नवलपुर” भन्ने नाराका साथ स्थानीयहरू आफ्नो हकहित संरक्षणका लागि संगठित भएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो गरिमामय संस्थाको विकासमा आफूहरूको सधैँ साथ रहने भए तापनि, प्रक्रिया मिचेर र स्थानीयको हक खोसेर गरिने कुनै पनि निर्णय स्वीकार्य नहुने अडान जग्गाधनीहरूले लिएका छन् । नगर विकास समितिले यस विषयमा कस्तो कदम चाल्छ भन्नेमा अहिले सबैको चासो केन्द्रित भएको छ ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।