घोराही, दाङ जिल्ला प्रशासन कार्यालय दाङले आफ्नो स्वामित्वमा रहेको जग्गामा भएका अनधिकृत संरचनाहरू हटाउन कडा निर्देशन जारी गरेको छ। कार्यालयले एक अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै घोराही उपमहानगरपालिका वडा नं. १४ र १६ मा पर्ने जग्गा अतिक्रमण गरी बसेका व्यक्ति वा संस्थाहरूलाई २१ दिनको समयसीमा तोकेको हो।
सूचना अनुसार, घोराही ७ ‘ख’ कित्ता नं. ६५१ मा रहेको १३-१४-३-० क्षेत्रफल (९२८३५.८० वर्ग मिटर) जग्गामा अवैध रूपमा घर टहरा निर्माण गरी भोगचलन भइरहेको छ। तोकिएको २१ दिनभित्र ती भौतिक संरचनाहरू नहटाइएमा प्रशासन आफैँले हटाउने र सो क्रममा हुने क्षतिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने व्यहोरा चेतावनीमा उल्लेख छ।
यद्यपि, सो जग्गा कब्जा गरी बसेका परिवारहरूमध्ये वास्तविक भूमिहीन वा सुकुम्बासीहरूका हकमा भने प्रशासनले केही लचकता देखाएको छ। उनीहरूलाई अन्यत्र व्यवस्थापन गर्न सकिने भएकाले आवश्यक प्रमाणसहित १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिन आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालद्वारा हस्ताक्षरित यो सूचनाले सार्वजनिक सम्पत्तिको संरक्षणमा कडाइ गर्ने संकेत गरेको छ।


बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।