तुलसीपुर, २८ वैशाख
इरान, अमेरिका र इजरायलबीचको बढ्दो युद्धका कारण विश्वभरका नागरिक महँगीको चर्को मारमा परिरहेका छन्। तर, यही मानवीय र आर्थिक संकटको समयमा विश्वका केही ठूला बहुराष्ट्रिय कम्पनीहरूले भने अर्बौं डलरको अकल्पनीय नाफा कमाइरहेका छन्।
ऊर्जा बजारमा ‘तेलको खेल’ इरानले सामरिक महत्त्वको ‘स्ट्रेट अफ होर्मुज’ बन्द गरेपछि विश्वभर तेल र ग्यासको आपूर्तिमा अवरोध आएको छ। विश्वको पाँचौँ हिस्सा ऊर्जा आपूर्ति हुने यो मार्ग अवरुद्ध हुँदा मूल्य आकाशिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीका अनुसार यसैको जगमा ऊर्जा कम्पनीहरूले उच्च नाफा बटुलेका छन्।
ब्रिटिस पेट्रोलियम (बिपी) को नाफा सन् २०२६ को पहिलो त्रैमासिकमा दोब्बरले बढेर ३.२ अर्ब डलर पुगेको छ। त्यस्तै, शेलले ६.९२ अर्ब र टोटल इनर्जीले ५.४ अर्ब डलर नाफा कमाएका छन्। अमेरिकी कम्पनीहरू एक्जनमोबिल र सेभ्रनको आम्दानी पनि अपेक्षाभन्दा निकै माथि देखिएको छ।
बैंकिङ र रक्षा उद्योगको रजगज बजारको अस्थिरताले वित्तीय क्षेत्रलाई पनि उत्तिकै फाइदा पुर्याएको छ। जेपी मोर्गन चेजले यस वर्षको पहिलो तीन महिनामा ११.६ अर्ब डलर कमाउँदै इतिहासकै ठूलो नाफाको रेकर्ड बनाएको छ। लगानीकर्ताहरू जोखिमपूर्ण सम्पत्तिबाट पैसा निकालेर सुरक्षित मानिने बैंक र सुनमा लगानी बढाउँदा बैंक अफ अमेरिका र गोल्डम्यान स्याक्स जस्ता संस्थाहरूको आम्दानी चुलिएको हो।
अर्कोतर्फ, युद्धको प्रत्यक्ष लाभ रक्षा (Defense) उद्योगले लिइरहेका छन्। बिएई सिस्टम, लकहिड मार्टिन र बोइङ जस्ता कम्पनीहरूमा हतियारको माग यति धेरै छ कि उनीहरूलाई पुराना अर्डरहरू भ्याउनै मुस्किल परेको छ।
नवीकरणीय ऊर्जातर्फको आकर्षण पेट्रोलियम पदार्थको मूल्य वृद्धि र युद्धको अनिश्चितताले विश्वको ध्यान वैकल्पिक ऊर्जातर्फ मोडिएको छ। यसले नेक्स्टएरा इनर्जी र चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनीहरूलाई फाइदा पुगेको छ। बेलायतमा सोलार प्यानलको बिक्री ५० प्रतिशतले बढ्नुले पनि जैविक इन्धनको विकल्प खोज्न मानिसहरू बाध्य भएको देखाउँछ।
सर्वसाधारणलाई भने सास्ती ठूला कम्पनीहरूको ब्यालेन्स सिटमा अर्बौं डलर थपिँदै गर्दा, सामान्य परिवारको भान्सा भने प्रभावित भएको छ। ढुवानी खर्च बढ्दा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर उकालो लागेको छ, जसले गर्दा विश्वभरका सरकारहरूलाई महँगी नियन्त्रण गर्न चुनौतीपूर्ण बनेको छ।
संकटमा कसैको आँसु र कसैको हाँसो हुने पुँजीवादी चरित्र यो युद्धले फेरि एकपटक स्पष्ट पारेको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।