घोराही, दाङ ।
दाङको घोराही उप-महानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयहरू अब आइतबारका दिन पनि सञ्चालन गर्ने निर्णय गरेको छ। उप-महानगरपालिकाको नगर कार्यपालिकाको मिति २०८३ वैशाख २१ गतेको निर्णयअनुसार विद्यालय सञ्चालनको नयाँ व्यवस्था लागू गरिएको हो।
नगर कार्यपालिकाको कार्यालय (सामाजिक विकास महाशाखा) ले एक सूचना जारी गर्दै अभिभावकहरूबाट आइतबारका दिन पनि पठनपाठन सुचारु गरिदिन व्यापक अनुरोध भएपछि यो निर्णय लिइएको जनाएको छ। शिक्षा अधिकृत एवं महाशाखा प्रमुख भवानी गिरीद्वारा हस्ताक्षरित पत्रका अनुसार, अबदेखि नगरभित्रका सम्पूर्ण विद्यालयहरू साविक बमोजिम नै आइतबारदेखि शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालन हुनेछन्।
यसअघि केही समयका लागि आइतबार बिदा दिने वा समय तालिकामा हेरफेर गरिएको भए तापनि, अब परिवर्तित समय सारिणी बमोजिम पाठ्यक्रमको समायोजन र व्यवस्थापन मिलाउन समेत विद्यालयहरूलाई निर्देशन दिइएको छ।
उप-महानगरपालिकाले यो सूचना नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पठाउँदै सोही अनुसार पठनपाठनको व्यवस्था मिलाउन अनुरोध गरेको छ। यस निर्णयको बोधार्थ नगर प्रमुख, उप-प्रमुख र शिक्षा विकास तथा समन्वय इकाइलाई समेत दिइएको छ। आइतबारको बिदा कटौती भएपछि अब विद्यार्थीहरूको शैक्षिक क्यालेण्डर र पाठ्यक्रम समयमै पूरा हुने विश्वास लिइएको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।