काठमाडौं । सरकारले सुकुम्बासी बस्तीका घर-टहरा खाली गर्न दिएको निर्देशनको श्रम संस्कृति पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। प्रतिनिधि सभा सदस्य एवम् पार्टीका महासचिव आरेन राईले विकल्पबिना बस्ती हटाउन खोजे आफू स्वयं उपस्थित भएर प्रतिरोध गर्ने बताउनुभएको हो।
सांसद राईले राज्यको त्रुटिपूर्ण भूमि नीतिका कारण मानिसहरू सुकुम्बासी बनेको उल्लेख गर्दै उनीहरूको छानबिन र उचित व्यवस्थापनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गर्नुभएको छ। “बस्ने ठाउँको टुङ्गो नगरी सरकारले जबरजस्ती गरे हामी प्रतिकारमा उत्रनेछौँ,” उनी भन्छन्।
यसैबीच, पार्टी अध्यक्ष हर्क साम्पाङले पनि विज्ञप्ति जारी गर्दै सरकारी कदमको भर्त्सना गर्नुभएको छ। जनतालाई बेघर बनाउनु, लाठी र बन्दुक देखाएर तर्साउनु संविधान र लोकतन्त्रको मूल्य मान्यता विपरीत रहेको उहाँको ठहर छ। अध्यक्ष साम्पाङले सरकारले निरंकुश चरित्र देखाएको आरोप लगाउँदै यस्ता मानवअधिकार विरोधी गतिविधिको सख्त निन्दा गर्नुभएको छ।
सरकारले शनिबार बिहानदेखि सुकुम्बासी बस्ती खाली गर्न आदेश दिएपछि अहिले तनावको स्थिति सिर्जना भएको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।