दाङ, २३ वैशाख ।
बाँकेको नेपालगन्जमा एक युवकको सामान्य विवादपछि योजनाबद्ध रूपमा हत्या गरिएको सनसनीपूर्ण तथ्य खुलेको छ। खजुरा गाउँपालिका–६ का २१ वर्षीय विशाल चन्द ठकुरीको मंगलबार बिहान ५ बजेतिर चक्कु र बियरका बोतल प्रहार गरी हत्या गरिएको हो। प्रहरी अनुसन्धानका अनुसार यो घटनाको मुख्य कारण चिनजान भएकै दिन भएको सामान्य वादविवाद थियो।
घटनाको पृष्ठभूमि
मृतक विशाल वैशाख २१ गते आफ्ना साथी प्रितम अधिकारीको ब्रतबन्धमा सहभागी हुन नेपालगन्ज बेलासपुर पुगेका थिए। ब्रतबन्धपछि सुत्नका लागि ठाउँ अभाव भएपछि प्रितमले विशालसहितका साथीहरूलाई आफन्त दीपेन्द्र रोकायाको घरमा पठाएका थिए। त्यहाँ सँगै बसेर रमाइलो गर्ने क्रममा वैशाख २२ गते बिहान २ बजेतिर दीपेन्द्रराज गिरी र विशालबीच भनाभन भयो। उनीहरूबीच सोही दिन मात्र पहिलो पटक भेट भएको थियो।
कैलालीबाट ग्याङ परिचालन
विशालसँगको विवादपछि कोठाबाट बाहिरिएका दीपेन्द्रराज गिरीले तत्कालै कैलालीको लम्कीचुहाबाट आफ्ना साथीहरूलाई नेपालगन्ज बोलाए। दीपेन्द्रको फोनपछि बिबिएस कुँवर, सुशिल खत्री र खगेन्द्र देवकोटा दुईवटा मोटरसाइकलमा रातारात कैलालीबाट बाँके आइपुगे। प्रहरीका अनुसार उनीहरू ‘नन्दु सरकार ग्याङ’ मा आबद्ध व्यक्तिहरू हुन्, जो कैलालीमा गुण्डागर्दीमा संलग्न रहँदै आएका थिए।
आक्रमण र हत्या
कैलालीबाट आएका युवाहरूको समूह र दीपेन्द्र मिलेर बिहान ५ बजेतिर सुतिरहेका विशालमाथि कोठामै आक्रमण सुरु गरे। ज्यान जोगाउन भागेका विशाललाई उनीहरूले झन्डै एक सय मिटर परसम्म लखेट्दै चक्कु र बियरका बोतलले प्रहार गरिरहे। विशाल अचेत भएर ढलेपछि उनीहरू घटनास्थलबाट फरार भएका थिए। बिहान ६ बजे अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरे।
प्रहरी कारबाही र पक्राउ
घटनापछि फरार भएकाहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेले सिसिटिभी फुटेज र प्राविधिक अनुसन्धानको आधारमा पछ्याएको थियो। प्रहरीले मुख्य आरोपी दीपेन्द्रसहित चार जनालाई बर्दियाको ठाकुर बाबा नगरपालिकाबाट पक्राउ गरेको छ।
यसैगरी, घटनामा संलग्नता देखिएको आशङ्कामा नेपालगन्जमा अध्ययनरत विद्यार्थीहरू सन्तोष संज्याल र रूपेश थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा घाइते भएका योगेन्द्र कामी भने उपचारपछि डिस्चार्ज भएका छन्। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको चक्कु, बियरका टुक्रा र मोटरसाइकल बरामद गरी पक्राउ परेकाहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिनुभयो।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।