अन्तराष्ट्रिय

अमेरिकी दबाब र ट्रम्पको भ्रमणको पूर्वसन्ध्यामा इरानी विदेशमन्त्री बेइजिङमा

बकपत्र संवाददाता       ३ हप्ता अगाडी प्रकाशित     38 No Comments
📋 सारांश
  •  इरानका विदेशमन्त्री अब्बास अराघची एक उच्चस्तरीय कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान चीनको राजधानी बेइजिङ पुगेका छन्।
  • इरानी समाचार एजेन्सी तसनीम र फार्सका अनुसार, अराघचीले आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा र विश्वव्यापी घटनाक्रमबारे सघन छलफल गर्ने कार्यक्रम रहेको छ।
  • अमेरिका र इजरायलसँगको बढ्दो सैन्य तनाव र इरानमाथि युद्धको खतरा मडारिइरहेका बेला विदेशमन्त्री अराघचीको यो पहिलो चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची एक उच्चस्तरीय कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान चीनको राजधानी बेइजिङ पुगेका छन्। इरानी समाचार एजेन्सी तसनीम र फार्सका अनुसार, अराघचीले आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा र विश्वव्यापी घटनाक्रमबारे सघन छलफल गर्ने कार्यक्रम रहेको छ।

अमेरिका र इजरायलसँगको बढ्दो सैन्य तनाव र इरानमाथि युद्धको खतरा मडारिइरहेका बेला विदेशमन्त्री अराघचीको यो पहिलो चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार मात्र नभई इरानी तेलको प्रमुख खरिदकर्ता समेत हो। अमेरिकाले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाए पनि चीनले इरानी तेलको खरिदलाई निरन्तरता दिँदै तेहरानको अर्थतन्त्रलाई महत्त्वपूर्ण सहारा दिँदै आएको छ।

यो भ्रमण यस्तो समयमा भइरहेको छ, जब आगामी मे १४ र १५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्न बेइजिङको भ्रमण गर्दैछन्। ट्रम्पको भ्रमणअघि नै इरानले चीनसँगको आफ्नो रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन खोजेको देखिन्छ।

अर्कातर्फ, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनलाई इरानमाथि दबाब बढाउन आग्रह गरेका छन्। विशेषगरी विश्व व्यापारका लागि महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गमा इरानको नियन्त्रण अन्त्य गर्न र क्षेत्रीय तनाव कम गर्न चीनले भूमिका खेल्नुपर्ने वासिङ्टनको चाहना छ।

अराघचीको यो भ्रमणले मध्यपूर्वमा बढ्दो इजरायल-इरान तनाव, अमेरिकी प्रतिबन्धहरूको सामना र हर्मुज जलमार्गको सुरक्षा जस्ता विषयमा बेइजिङ र तेहरानबीच नयाँ समझदारी बन्ने अपेक्षा गरिएको छ। ट्रम्प र सीबीचको आगामी वार्तामा पनि इरानको यो कूटनीतिक सक्रियताले प्रभाव पार्न सक्ने कूटनीतिक विश्लेषकहरू बताउँछन्।

सम्वन्धित समाचार