काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरूसँग विशेष छलफल गर्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधानका विभिन्न पक्षमा कानुनी राय लिन यो परामर्श आयोजना गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३ः०० देखि ५ः०० बजेसम्म हुने छलफलमा संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलता र परिमार्जन गर्नुपर्ने संवैधानिक व्यवस्थाबारे सुझाव लिइनेछ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार, कानुन र संविधानका विज्ञका रूपमा पूर्वमहान्यायाधिवक्ताहरूबाट प्राप्त हुने अनुभव र दृष्टिकोणले बहसपत्रलाई थप वस्तुपरक र प्रभावकारी बनाउन मद्दत पुग्नेछ।
सरकारले संविधानलाई समयसापेक्ष बनाउन र राजनीतिक स्थिरता सुनिश्चित गर्न संशोधनको प्रक्रिया अघि बढाउने तयारी स्वरूप यो कार्यदल गठन गरेको थियो। कार्यदलले विभिन्न क्षेत्रका विज्ञ, राजनीतिक दल र सरोकारवालाहरूसँग चरणबद्ध रूपमा सुझाव सङ्कलन गरिरहेको छ। आजको छलफलबाट प्राप्त निचोडलाई कार्यदलले तयार पार्ने अन्तिम बहसपत्रमा समावेश गरिने सुवेदीले जानकारी दिए। यो परामर्शले संविधान संशोधनका कानुनी र संवैधानिक मार्ग स्पष्ट पार्ने विश्वास लिइएको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।