काठमाण्डौं, १४ वैशाख ।
मध्यपुर थिमी नगरपालिका–१, मनोहरा नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा वर्षौँदेखि सञ्चालित एक विद्यालयमा डोजर चलाइएको छ। सोमबार बिहानै ‘सरस्वती आधारभूत विद्यालय’ भत्काइएपछि त्यहाँ अध्ययनरत सयौँ विद्यार्थीको भविष्य अन्योलमा परेको छ।
आइतबारदेखि नै बस्तीका अवैध संरचना हटाउन सुरु गरेको प्रशासनले विद्यालयको सामान सार्न समय नदिएको प्रधानाध्यापक इन्दिरा महतले दुखेसो पोखिन्। “मैले नभत्काउन जनपद र महानगर प्रहरीलाई निकै अनुनय गरेँ, तर सुकुम्बासी बस्तीका सबै संरचना भत्काउने आदेश छ भन्दै डोजर चलाइयो,” महतले भावुक हुँदै भनिन्, “एउटा भवन पूर्ण रूपमा भत्काइएको छ भने अर्को आधा भत्काएर अलपत्र छोडिएको छ।”
वि.सं. २०६२ सालमा स्थापना भएको यस विद्यालयले २०६४ सालदेखि सरकारी मान्यता पाएर नियमित सञ्चालनमा थियो। हाल यहाँ कक्षा ८ सम्म पढाइ हुन्थ्यो भने २८० जना विद्यार्थी अध्ययनरत थिए। विद्यालयमा १५ जना शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन्। चाखलाग्दो कुरा त के छ भने, यहाँ पढ्ने विद्यार्थीमध्ये आधा मात्र सुकुम्बासी परिवारका हुन्, बाँकी अन्य क्षेत्रका बालबालिका रहेका छन्।
२०७१ सालदेखि कक्षा ८ सम्मको अनुमति पाएर १० वटा कक्षाकोठाबाट शिक्षा दिइरहेको शैक्षिक संस्था एक्कासि भत्काइँदा स्थानीय अभिभावक र बालबालिकाहरू स्तब्ध बनेका छन्। सरकारले बस्ती हटाउने नाममा बालबालिकाको शिक्षा पाउने नैसर्गिक अधिकारमाथि प्रहार गरेको भन्दै यतिखेर चौतर्फी आलोचना भइरहेको छ। अब ती २८० विद्यार्थीले कहाँ र कसरी पढ्ने भन्ने विषयमा स्थानीय तहसँग समन्वय हुन बाँकी रहेको विद्यालय प्रशासनले जनाएको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।