प्यूठान, १४ वैशाख । प्यूठानमा परेको विनाशकारी चट्याङले एकै परिवारका दुई सदस्यको ज्यान लिएको छ। गौमुखी गाउँपालिका–६ लिवाङमा चट्याङ लाग्दा ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहोरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। मृतक बाबु-छोराको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
चट्याङको सोही घटनामा परी गौमुखी गाउँपालिका–४ की २४ वर्षीया सिर्जना न्यौपाने र वडा नं. ६ की ५४ वर्षीया गमी बोहोरा घाइते भएका छन्। उनीहरूको हाल जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ।
प्यूठानमा पछिल्लो समय चट्याङको जोखिम बढ्दो देखिएको छ। यसअघि शनिबार दिउँसो मात्रै माण्डवी गाउँपालिका–२ रातापानीमा २० वर्षीया कल्पना र १६ वर्षीया सपना अधिकारी घाइते भएका थिए। एकै क्षेत्रमा बारम्बार चट्याङ पर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् भने प्रहरीले सतर्क रहन अपिल गरेको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।