काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला पन्तलाई मनोनित गरेको छ। प्रतिनिधिसभा संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशन र विधानको व्यवस्थाअनुसार उनलाई यो जिम्मेवारी दिइएको हो।
यसअघि सो पदमा कृष्णप्रसाद सिटौला कार्यरत थिए। कांग्रेस संसदीय दलको कार्यालयका अनुसार सिटौलालाई हटाएर पन्तलाई नयाँ जिम्मेवारी सुम्पिएको हो। कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने स्पष्ट व्यवस्था रहेको छ।
पन्तको मनोनयनलाई पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनका रूपमा हेरिएको छ। पदमुक्त भएका सिटौला सभापति शेरबहादुर देउवा निकट मानिन्छन् भने नवनियुक्त पन्त महामन्त्री गगन थापा समूहकी हुन्। उनी पार्टीभित्र विशेष महाधिवेशनको पक्षमा वकालत गर्ने नेताका रूपमा समेत परिचित छिन्।
महिला नेतृत्वलाई अगाडि सारेर कांग्रेसले समावेशी सन्देश दिन खोजेको विश्लेषण गरिएको छ। पन्तको नियुक्तिसँगै राष्ट्रिय सभामा कांग्रेसको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। यो परिवर्तनले पार्टीभित्रका विभिन्न गुटहरूबीचको कार्यशैलीमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।