२२ वैशाख, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको चरम हाहाकार भएको छ। करिब एक महिनाअघि खानेपानी तान्ने सोलार सिस्टमको मोटर बिग्रिएपछि स्थानीय ३५ घरधुरी मारमा परेका हुन्।
विगत १२ वर्षदेखि कादुरी ब्रिटिस संस्थाले निर्माण गरिदिएको सोलार लिफ्टिङ प्रणालीमार्फत माथिल्लो पधेराबाट गाउँमा पानी ल्याउने गरिएको थियो। तर, मोटर बिग्रिएपछि हाल स्थानीयहरू खानेपानीका लागि दुई घण्टा पैदल हिँडेर मुहानसम्म पुग्न बाध्य छन्। स्थानीय अमर घर्तीका अनुसार खानेपानीको संकट गहिरिँदै जाँदा गाउँ नै पलायन हुने अवस्था सिर्जना भएको छ। “१२ वर्षअघि पनि पानीकै अभावमा धेरैले गाउँ छोडेका थिए, अहिले फेरि त्यस्तै स्थिति आएको छ,” घर्तीले चिन्ता व्यक्त गरे।
यस समस्याबारे स्थानीयले तुलसीपुर उपमहानगरपालिका र नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रमा पटक-पटक जानकारी गराउँदा पनि समाधानका लागि कुनै पहल नभएको जितबहादुर थापाले गुनासो गरे। दुर्गम बस्तीमा देखिएको यो संकट समाधान गर्न सम्बन्धित निकायले ध्यान नदिँदा नागरिकहरू आधारभूत आवश्यकताबाटै वञ्चित हुनुपर्ने अवस्था आएको छ। समयमै मर्मत नभए खुमखानीको सिंगो बस्ती नै विस्थापित हुन सक्ने जोखिम बढेको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।