तुलसीपुर, दाङ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुर, दाङले आफ्नो स्वामित्वमा रहेको जग्गामा अनाधिकृत रूपमा निर्माण गरिएका घर टहरा तथा भौतिक संरचनाहरू हटाउन १५ दिने जरुरी सूचना जारी गरेको छ। प्रहरी कार्यालयले एक सूचना प्रकाशित गर्दै अतिक्रमण गरिएको जग्गा तत्काल खाली गर्न सम्बन्धित सबैलाई कडा निर्देशन दिएको हो।
कार्यालयद्वारा जारी सूचना अनुसार, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा अवस्थित तुलसीपुर नक्सा नं. ५/घ, कित्ता नं. २६८३ को कुल ०.१८६२.४६ वर्गमिटर क्षेत्रफल भएको जग्गा ईलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा दर्ता रहेको छ। उक्त सरकारी जग्गामा केही व्यक्तिहरूले अनुमति बिना अनाधिकृत रूपमा घर, टहरा तथा अन्य भौतिक संरचनाहरू निर्माण गरी लामो समयदेखि भोगचलन र कब्जा गर्दै आएका थिए।
प्रहरी कार्यालयले सूचना प्रकाशित भएको मिति अर्थात् २०८३ जेठ १२ गतेदेखि लागू हुने गरी १५ दिनको स्पष्ट समयसीमा तोकेको छ। यस अवधिभित्र जग्गा कब्जा गरी बसेका व्यक्तिहरूले आफ्ना घर, टहरा र भौतिक संरचनाहरू आफैँ हटाई जग्गा खाली गरेर सहयोग पुर्याउन आग्रह गरिएको छ।
विशेष चेतावनी: यदि तोकिएको १५ दिनको समयसीमा भित्र सम्बन्धित पक्षले अनाधिकृत संरचनाहरू स्वतः स्फूर्त रूपमा नहटाएमा, प्रहरी कार्यालय आफैँले ती संरचनाहरू भत्काउने र जग्गा खाली गराउने व्यहोरा समेत सूचनामा स्पष्ट पारिएको छ।
पत्र संख्या ०८२/०८३ र चलानी नम्बर ६८४ रहेको उक्त अत्यन्त जरुरी सूचनामा ईलाका प्रहरी कार्यालय (कार्य शाखा) तुलसीपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक (DSP) होम बहादुर पराजुलीले हस्ताक्षर गर्नुभएको छ। सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षण गर्ने उद्देश्यका साथ प्रहरीले यो कदम चालेको बुझिएको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।