तालिमवाट सिकेको सिप ब्यबसायमा परिणत गर्नुपर्छः पूर्वमुख्यमन्त्री चौधरी

बकपत्र संवाददाता       १ महिना अगाडी प्रकाशित     60 No Comments
📋 सारांश
  • तुलसीपुर, १४ वैशाख ।
  •    लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सीप विकासका तालिमहरू केवल हल र प्रमाणपत्रमा सीमित हुन नहुने बताएका छन्।
  • सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा सञ्चालित १५ दिने 'अचार उत्पादन तथा गुडिया निर्माण तालिम'को समापन गर्दै उनले तालिमलाई आयआर्जनको बलियो माध्यम बनाउन आग्रह गरे।

तुलसीपुर, १४ वैशाख  ।   लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सीप विकासका तालिमहरू केवल हल र प्रमाणपत्रमा सीमित हुन नहुने बताएका छन्। सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा सञ्चालित १५ दिने ‘अचार उत्पादन तथा गुडिया निर्माण तालिम’को समापन गर्दै उनले तालिमलाई आयआर्जनको बलियो माध्यम बनाउन आग्रह गरे।

बजेटको सही सदुपयोगमा जोड
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री चौधरीले सरकारले सीप विकासमा ठुलो लगानी गरे पनि त्यसको नतिजा सन्तोषजनक नदेखिएको प्रति चिन्ता व्यक्त गरे। उनले भने:

“तालिम सिकेर मात्रै हुँदैन, त्यसमा राज्यको बजेट खर्च भएको हुन्छ। हामीले सिकेको सीपलाई जसरी पनि आम्दानीमा जोड्नु पर्छ। अहिले सीप सिक्ने तर व्यवहारमा नउतार्ने परिपाटीले गर्दा सरकारी लगानी बालुवामा पानी जस्तै भएको छ।”

उनले थपे, विशेष गरी आर्थिक अवस्था कमजोर भएका समुदायका लागि यस्ता तालिमहरू आर्थिक क्रान्तिको आधार बन्नुपर्छ। पटक–पटक बजेट विनियोजन हुने तर प्रतिफल नआउने अवस्थालाई अब सहभागीहरूले चिर्नुपर्ने उनको भनाइ थियो।

दैनिक आम्दानीको लक्ष्य
त्यस्तै, लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. नहकुल केसीले तालिमको सफलतालाई आर्थिक लाभसँग दाँज्नुपर्ने धारणा राखे। उनले भने, “तालिम लिएपछि दैनिक १५ सयदेखि दुई हजारसम्मको आम्दानी गर्न सक्ने बन्नुपर्छ, तब मात्र तालिमको सार्थकता रहन्छ।” उनले उत्पादित वस्तुहरूको बजारीकरणमा आफूहरूले हरदम सहयोग गर्ने आश्वासन समेत दिए।

७२ महिलाको हातमा नयाँ सीप
तुलसीपुर उपमहानगरपालिकाका वडा नं. ६, ७ र ९ का गरी कुल ७२ जना महिलाहरूले यस पटक व्यावसायिक सीप हासिल गरेका छन्:

अचार उत्पादन (२५ जना सहभागी): महिलाहरूले बोइलर कुखुराको अचार, टिमुर, करेला, कागती, भाङ्गोको छोप, लसुन र अदुवाका विभिन्न स्वादसहित ११ प्रकारका अचार बनाउन सिकेका छन्।

गुडिया निर्माण (४७ जना सहभागी): सहभागीहरूले खरायो, पाण्डा, गणेश र विभिन्न आकर्षक कुसनहरू (टायर, लभ, फ्लावर र चारकुने कुसन) गरी ९ प्रकारका सामग्री बनाउन सिकेका छन्।

समापन तथा प्रतिबद्धता
आइतबार आयोजित समापन समारोहमा सहभागीहरूलाई विदाई गरियो। सो अवसरमा तुलसीपुर–७ का वडाध्यक्ष राम बहादुर जीसी र सामाजिक विकास डिभिजन प्रमुख गिरिराज पान्डेले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए।

सहभागीको तर्फबाट टीकाकुमारी सार्की र मिना लामिछानेले सिकेको सीपलाई खेर जान नदिने र तत्कालै व्यवसाय सुरु गर्ने अठोट व्यक्त गरे। प्रशिक्षक बालकुमारी खड्काले तालिमको उपलब्धिबारे चर्चा गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण प्रकाश केसीले गरेका थिए।

सम्वन्धित समाचार