तुलसीपुर, २३ वैशाख । दाङमा प्रहरीले फरारको सूचीमा रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरूलाई पछिल्लो एक हप्ताको अवधिमा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले वैशाख १५ गतेदेखि २१ गतेसम्म विशेष अभियान नै चलाएर उनीहरूको खोजी कार्य तीव्र पारेको थियो। पक्राउ परेका प्रतिवादीहरूबाट कुल ५ हजार रुपैयाँ जरिवाना र ४ वर्ष ९ महिना १० दिनको कैद भुक्तान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। लामो समयदेखि कानुनको आँखा छलेर लुकिछिपी बसिरहेका उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दाङमा पेश गरिएको छ।
अदालतले दोषी ठहर गरे पनि सजाय भुक्तान नगरी फरार हुनेहरूको संख्या बढ्दै गएपछि प्रहरीले सक्रियता बढाएको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार समाजमा शान्ति सुरक्षा कायम गर्न र विधिको शासन स्थापित गर्न फरार अपराधीहरूको खोजी कार्यलाई निरन्तरता दिइनेछ। यो सफलताले कानुनी कारबाहीबाट बच्न खोज्नेहरूका लागि कडा सन्देश दिएको प्रहरीको विश्वास छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।