दुःखद दुर्घटना

एक दुःखद दुर्घटना: तुलसीपुरमा पौडी खेल्ने क्रममा युवकको डुबेर मृत्यु

बकपत्र संवाददाता       १ महिना अगाडी प्रकाशित     52 No Comments
📋 सारांश
  • दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा निर्माणाधीन एक तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको अकल्पनीय मृत्यु भएको छ।
  • तुलसीपुर–१७ मंगरी निवासी करिब १९ वर्षीय नवराज विकको रत्न उद्यान नजिकै रहेको तालमा डुबेर ज्यान गएको हो।
  • दिउँसोको समयमा ५ जना साथीहरूसँगै पौडी खेल्न गएका नवराज सुरुमा बाहिरै बसेका थिए।
 तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा निर्माणाधीन एक तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको अकल्पनीय मृत्यु भएको छ। तुलसीपुर–१७ मंगरी निवासी करिब १९ वर्षीय नवराज विकको रत्न उद्यान नजिकै रहेको तालमा डुबेर ज्यान गएको हो। दिउँसोको समयमा ५ जना साथीहरूसँगै पौडी खेल्न गएका नवराज सुरुमा बाहिरै बसेका थिए। अन्य चार जना साथीहरू पानीमा पसेपछि उनी पनि पौडी खेल्न तालमा हाम फालेका थिए।पौडी खेल्न राम्रोसँग नजान्दा नवराज पानीमा डुबेर संकटमा परेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनलाई डुब्दै गरेको देखेर सँगै रहेका साथीहरूले तत्कालै उद्धार गर्ने प्रयास गरे तापनि सफल हुन सकेनन्। घटनाको करिब साढे २ बजेतिर प्रहरीलाई जानकारी गराइएको थियो। लगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होम बहादुर पराजुलीको कमान्डमा प्रहरी टोली र विपद् व्यवस्थापनको टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो।

स्थानीय बासिन्दा, प्रहरी र विपद् व्यवस्थापन टोलीको संयुक्त प्रयासमा नवराजको शव तालबाट निकालिएको छ। वडा नम्बर १८ का वडा अध्यक्ष माधव वलीले घटनाको पुष्टि गर्दै युवाहरूले पौडी खेल्दा आवश्यक सावधानी नअपनाउँदा यस्तो दुखद परिणाम आएको बताउनुभयो। यो घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने गर्मी बढेसँगै पौडी खेल्न जाने युवाहरूलाई गहिरो पानी र असुरक्षित स्थानमा नजान सुरक्षा निकायले सचेत गराएको छ।

सम्वन्धित समाचार