बस्तीमा डोजर चल्दा सुकुम्बासीको संसार उजाडियो: बल्खुका ईन्द्रबहादुर मृत फेला

बकपत्र संवाददाता       १ महिना अगाडी प्रकाशित     15 No Comments
📋 सारांश
  •  वर्षौंदेखि जोडेको ओत डोजरले भत्काएपछि उत्पन्न पीडा सहन नसक्दा बल्खुका एक सुकुम्बासीले ज्यान गुमाएका छन्।
  • सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान सुरु गरेसँगै घरबारविहीन हुने चिन्ताले छटपटाएका ६१ वर्षीय ईन्द्रबहादुर राई शुक्रबार मृत अवस्थामा भेटिएका हुन्।
  • ​१६-१७ वर्षदेखि बल्खुको सुकुम्बासी बस्तीलाई नै आफ्नो संसार मान्दै आएका राई परिवारका लागि शुक्रबारको बिहानैदेखि काल बनेर आयो।

काठमाडौं । वर्षौंदेखि जोडेको ओत डोजरले भत्काएपछि उत्पन्न पीडा सहन नसक्दा बल्खुका एक सुकुम्बासीले ज्यान गुमाएका छन्। सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान सुरु गरेसँगै घरबारविहीन हुने चिन्ताले छटपटाएका ६१ वर्षीय ईन्द्रबहादुर राई शुक्रबार मृत अवस्थामा भेटिएका हुन्।

​१६-१७ वर्षदेखि बल्खुको सुकुम्बासी बस्तीलाई नै आफ्नो संसार मान्दै आएका राई परिवारका लागि शुक्रबारको बिहानैदेखि काल बनेर आयो। बस्तीमा डोजर चल्न थालेपछि ईन्द्रबहादुर मानसिक रूपमा विक्षिप्त बनेका थिए।

​”घर भत्किएको हेर्न सक्दिनँ”

​मृतककी पत्नी सरिता राईका अनुसार, घर भत्काउने तयारी भएपछि ईन्द्रबहादुर निकै तनावमा थिए। बिहानैदेखि एक्लै बर्बराउँदै हिँडेका उनले घर भत्किएको दृश्य आफ्नै आँखाले हेर्न नसक्ने बताएका थिए।

​”बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै म यो हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,” पत्नी सरिताले आँशु पुछ्दै भनिन्, “अहिले दिउँसो उहाँ यस्तो अवस्थामा (मृत) भेटिनुभयो।”

​मृत्युको कारण र अनुसन्धान

​राईको मृत्युको ठोस कारण अहिले नै नखुले पनि प्रारम्भिक अनुमानमा उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। सरकारले विकल्पविहीन ढंगले बस्ती उठाउन थालेपछि विपन्न परिवारमा परेको ठूलो मानसिक आघातको परिणाम स्वरूप यो घटना भएको छिमेकीहरू बताउँछन्।

​बस्ती हटाउने सरकारी कदम र त्यसले निम्त्याएको यो दुखद घटनाले अहिले बल्खु क्षेत्र निकै तनावग्रस्त बनेको छ। घर पनि गुमेको र परिवारको मुलीको पनि मृत्यु भएको अवस्थाले राई परिवार अहिले ठूलो बज्रपातमा परेको छ। यस घटनाले सुकुम्बासी व्यवस्थापनको मानवीय पक्षमाथि फेरि एकपटक गम्भीर प्रश्न खडा गरिदिएको छ।

सम्वन्धित समाचार