तुलसीपुर, ७ जेठ । उपमहानगरपालिकाहरू मध्ये सबैभन्दा बढी बेरुजु हुने पालिका तुलसीपुर उपमहानगरपालिका बनेको छ । पछिल्लो समय २४ करोड ९७ लाख रुपैयाँको लेखा परीक्षण हुँदा १ करोड १७ लाख रुपैयाँ बेरुजु देखिएको हो, जुन ४.७१ प्रतिशतको उच्च बेरुजु दर हो । उपमहानगरपालिका भरिमा सबैभन्दा कम बेरुजु भने बुटवल उपमहानगरपालिकाको रहेको छ ।
तुलसीपुरको वित्तीय अनुशासनको अवस्था विगतदेखि नै कमजोर देखिन्छ । आर्थिक वर्ष २०७८/०७(९) मा ३ अर्ब ५७ करोड ३९ लाख रुपैयाँको लेखापरीक्षण हुँदा सबैभन्दा धेरै ६.६० प्रतिशत अर्थात् २३ करोड ९१ लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ४ अर्ब १९ करोड ६७ लाख रुपैयाँको लेखा परीक्षण हुँदा ३.१६ प्रतिशत अर्थात् १३ करोड २४ लाख ७१ हजार रुपैयाँ बेरुजुसहित यो पालिका जिल्लामा दोस्रो भएको थियो ।
यसैगरी, आर्थिक वर्ष २०८०/०८१ मा ४ अर्ब ७ करोड ७४ लाख रुपैयाँको लेखा परीक्षण हुँदा २.२९ प्रतिशत अर्थात् ८ करोड ९४ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको थियो । सो वर्ष दाङ जिल्लाका १० पालिकाहरू मध्ये तुलसीपुर सबैभन्दा धेरै बेरुजु हुने पालिका बनेको थियो । अघिल्लो वर्षको तुलनामा केही सुधार देखिए पनि हाल तुलसीपुरको बेरुजु दर पुनः बढेर ४.७१ प्रतिशत पुगेको छ ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।