काफल पोख्ने नगर प्रहरीमाथि विभागीय कारबाही हुने, पीडित महिलालाई क्षतिपूर्ति दिइने

बकपत्र संवाददाता       ३ हप्ता अगाडी प्रकाशित     43 No Comments
📋 सारांश
  • तुलसीपुर, ६ जेठ २०८३।
  • ​सुर्खेतको वीरेन्द्रनगरमा फुटपाथ व्यवसायी महिलामाथि दुर्व्यवहार गर्दै डालाको काफल सडकमा पोखिदिने नगर प्रहरीमाथि विभागीय कारबाही हुने भएको छ।
  • वीरेन्द्रनगर नगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

तुलसीपुर, ६ जेठ २०८३

​सुर्खेतको वीरेन्द्रनगरमा फुटपाथ व्यवसायी महिलामाथि दुर्व्यवहार गर्दै डालाको काफल सडकमा पोखिदिने नगर प्रहरीमाथि विभागीय कारबाही हुने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै नगरपालिकाले पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय समेत गरेको छ।

​मंगलबार (जेठ ५ गते) साँझ वीरेन्द्रनगर नगर क्षेत्रभित्रका सडक पेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित सिटी बसपार्क क्षेत्रमा यो घटना घटेको थियो। त्यहाँ डालामा काफल राखेर बेचिरहेकी एक महिलामाथि नगर प्रहरीले अमानवीय व्यवहार गर्दै काफल भुइँमा पोखिदिएका थिए। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी विरोध र आक्रोश व्यक्त भइरहेको छ।

​नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सडक पेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा यस नगरपालिकाको वडा नं. ६ मा रहेको सिटी बसपार्क क्षेत्रभित्र डालामा काफल बेच्दै गर्नुभएको महिलामाथि भएको व्यवहारप्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। सो कार्यमा संलग्न नगर प्रहरीलाई विभागीय कारबाही गरिने र पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”

​फुटपाथ व्यवस्थापनका नाममा साना व्यवसायी र श्रमजीवीमाथि नगर प्रहरीले गर्ने यस्ता अमर्यादित र क्रूर व्यवहारको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेका बेला नगरपालिकाले कारबाही र क्षतिपूर्तिको प्रतिबद्धता जनाएको हो।

सम्वन्धित समाचार