काठमाडौं ।
सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित गरी नागार्जुन नगरपालिका–२ स्थित इचंगु अपार्टमेन्टमा पुर्याएका नागरिकहरूको अवस्था निकै कष्टकर र अमानवीय बन्दै गएको पाइएको छ। मंगलबार राष्ट्रियसभाका दुईवटा समितिले गरेको संयुक्त स्थलगत अनुगमनका क्रममा त्यहाँ आश्रित नागरिकहरू आधारभूत आवश्यकताबाट समेत वञ्चित भई ‘बन्धक’ जस्तै जीवन बिताइरहेको फेला परेको हो।
राष्ट्रियसभाको ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ र ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को टोलीले इचंगु पुगेर विस्थापितहरूको अवस्था बुझेको थियो। अनुगमनपछि टोलीले सरकारी संरक्षणमा रहेका भनिएका ती नागरिकहरू गम्भीर मानवीय संकटमा रहेको निष्कर्ष निकालेको छ।
अनुगमनमा सहभागी राष्ट्रियसभा सदस्य सोमनाथ पोर्तेलका अनुसार इचंगु अपार्टमेन्टमा एउटै ब्लकमा ५–५ वटा परिवारलाई कोचिएर राखिएको छ। दुईवटा कोठा र एउटा साझा कोठा भएको सानो ठाउँमा धेरै परिवार बस्नुपर्दा न्यूनतम गोपनीयता र सहजता समेत छैन।
पीडितहरूले सांसदहरूलाई घेरेर आफ्नो दुःख सुनाएका थिए। विस्थापनका क्रममा उनीहरूका अधिकांश लत्ताकपडा र व्यक्तिगत सामानहरू रंगशालामा थुपारिएका छन्। “विगत दुई सातादेखि बालबालिका र वृद्धवृद्धाहरू एकसरो कपडामै दिन काट्न बाध्य छन्,” सांसद पोर्तेलले भने, “चिसो भुइँमा ओढ्ने–ओछ्याउनी समेत नहुँदा बिरामी पर्ने जोखिम बढेको छ।”
होल्डिङ सेन्टरमा खानपान र स्वास्थ्यको अवस्था झनै भयावह छ। बिहान ११ र बेलुकी ८ बजे दिइने खानामा न स्वाद छ न पोषण। पानीजस्तो पातलो दाल र भातको भरमा हजारौँ नागरिकले दिन काटिरहेका छन्।
सबभन्दा गम्भीर समस्या दीर्घरोगीहरूमा देखिएको छ। नियमित औषधि खानुपर्ने बिरामीहरू औषधि अभावमा छटपटाइरहेका छन् भने स्वच्छ खानेपानी र पर्याप्त शौचालयको समेत अभाव छ। बालबालिकाहरू स्कुल जान पाएका छैनन्, जसले उनीहरूको भविष्यमाथि खेलबाड भइरहेको छ।
सरकारी तथ्यांक अनुसार २०८३ वैशाख १२ देखि २५ गतेसम्मको अवधिमा काठमाडौंका सुकुम्बासी बस्तीबाट २ हजार ६१६ घरधुरीका ११ हजार १ जना सदस्य विस्थापित भएका छन्। उनीहरूलाई काठमाडौं र आसपासका विभिन्न स्थानमा छरेर राखिएको छ:
विस्थापितमध्ये केहीको मानसिक र शारीरिक स्वास्थ्य नाजुक भएर वीर अस्पताल र मानसिक अस्पतालमा उपचार भइरहेको छ। आफ्नै थातथलोबाट उठाइएका नागरिकलाई सरकारले विकल्पका नाममा सास्ती दिएको भन्दै संसदीय समितिले तत्काल प्रभावकारी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।