काठमाडौँ, २८ वैशाख ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले राष्ट्रियता र जनजीविकाका सवालमा वर्तमान सरकारको कडा आलोचना गर्नुभएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले लिपुलेक अतिक्रमण र सुकुम्बासी विस्थापनमा सेनाको दुरुपयोग भएको भन्दै सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउनुभएको हो।
नेता साम्पाङले लिपुलेकलाई नाकाको रूपमा भारत सरकारले निर्बाध प्रयोग गरिरहँदा नेपाल सरकार लाचार भएर लुकेर बसेको टिप्पणी गर्नुभयो। “लिपुलेकमा भारतले नाका खोलेर चलाइराख्दा यो सरकार किन मौन छ? किन कूटनीतिक वार्ता गर्न सकेन?” उहाँले प्रश्न गर्नुभयो, “हस्ताक्षरविनाको एउटा कूटनीतिक नोट पठाएको भरमा सरकार किन लुकेर बसेको छ?” राष्ट्रिय अखण्डताको रक्षा गर्न सरकार चुकेको उहाँको आरोप थियो।
” उहाँले प्रश्न गर्नुभयो, “हस्ताक्षरविनाको एउटा कूटनीतिक नोट पठाएको भरमा सरकार किन लुकेर बसेको छ?” राष्ट्रिय अखण्डताको रक्षा गर्न सरकार चुकेको उहाँको आरोप थियो।
उहाँले नेपाली सेनाको परिचालनको विषयमा पनि कडा आपत्ति जनाउनुभयो। सीमा सुरक्षामा खटिनुपर्ने सेनालाई सुकुम्बासी बस्ती हटाउन प्रयोग गरिएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो। साम्पाङले भन्नुभयो, “नेपाली सेनालाई सीमा सुरक्षामा पठाइएको हो कि सुकुम्बासी बस्तीमा? सीमा बचाउन नसक्ने तर गरिब जनताको बस्तीमा सेना पठाएर आतंक फैलाउनुको कारण के हो? यसको जवाफ सरकारले दिनुपर्छ।” नागरिकको आवासको हक सरकार आफैँले उल्लंघन गरेको उहाँको बुझाइ छ।
सरकारले संसद् छलेर अध्यादेश ल्याउने प्रवृत्तिको विरोध गर्दै उहाँले वर्तमान सरकार लोकतन्त्रलाई कमजोर बनाउने दिशामा लागेको बताउनुभयो। “नागरिक सर्वोच्चतालाई संसद्को सर्वोच्चताले स्थापित गर्दछ। संसद् छल्नु भनेको जनमत र लोकतन्त्रलाई नमान्नु हो,” उहाँले भन्नुभयो। संवैधानिक परिषद्का ६ जना सदस्यमध्ये ३ जनालाई बहुमत मान्ने सरकारी तर्कलाई ‘विधिको उपहास’ को संज्ञा दिँदै उहाँले सरकारलाई लोकतन्त्रको याद दिलाउनुपर्ने बेला आएको उल्लेख गर्नुभयो।
आगामी बजेटका सन्दर्भमा प्रतिपक्षसँग सल्लाह गर्न सुझाव दिँदै उहाँले सरकारको राजस्व संकलन प्रक्रियामा पनि प्रश्न उठाउनुभयो। सय रुपैयाँको सामान ल्याउँदा पनि सर्वसाधारणसँग भन्सार असुल्ने सरकारले ठुला नाकाहरूबाट भइरहेको चोरी पैठारी रोक्न नसक्नु लज्जास्पद भएको उहाँले बताउनुभयो। साम्पाङले वर्तमान सरकार पूर्णतः असफल भइसकेको दाबी गर्दै जनताको आधारभूत अधिकार र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि गम्भीर बन्न चेतावनी दिनुभएको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।