तुलसीपुर, २९ वैशाख ।
नेपाल प्रहरीमा नियमित सरुवा प्रक्रिया रोकिँदा तल्लोदेखि माथिल्लो तहसम्मका कमान्डरहरूको कार्यअवधि अनिश्चित बनेको छ। सामान्यतया इन्चार्ज सम्हालेको एक वर्ष पूरा भएपछि सरुवा हुने प्रावधान रहे पनि हाल इन्स्पेक्टरदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मको सरुवा रोकिएको हो।
प्रधानमन्त्रीकै काँधमा गृहको भार शेयर विवादका कारण सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएपछि हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हालिरहेनुभएको छ। प्रहरी नियमावली अनुसार एसपीसम्मको सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई भए पनि मन्त्रीस्तरको राजनीतिक सहमतिको पर्खाइमा सरुवा प्रक्रिया ओझेलमा परेको बुझिएको छ। एसएसपी र डीआईजीको सरुवा भने गृहमन्त्रीस्तरीय निर्णयबाट मात्र हुने प्रावधान छ।
आकर्षक युनिटमा तीव्र लबिइङ सरुवाको चर्चासँगै काठमाडौं, ललितपुर, अपराध अनुसन्धान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय जस्ता आकर्षक मानिएका युनिटहरूमा जान एसएसपीहरूबीच तीव्र प्रतिस्पर्धा र लबिइङ सुरु भएको छ। यी ठाउँहरूमा कमान्ड सम्हाल्न एसएसपीहरू दयानिधि ज्ञवाली, दिलीप घिमिरे, अजय केसी, प्रवीण धिताल, सुरेश काफ्ले र सुवास बोहोरालगायतको चर्चा छ।
विशेष गरी जेन्जी (Gen-Z) आन्दोलनपछि लयमा फर्किएको काठमाडौंको सुरक्षा कमान्ड समात्न सुरक्षा रणनीतिमा दख्खल राख्ने अधिकृतहरूले दाबेदारी प्रस्तुत गरिरहेका छन्।
कार्यअवधि र चुनौती काठमाडौंमा एसएसपीहरूले एक वर्षको कार्यकाल पूरा गर्न कठिन हुने विगतको तथ्यांक छ। ६ महिना टिक्नुलाई नै सफलता मानिने काठमाडौंको कमान्ड हाल एसएसपी रमेश थापाले सम्हालिरहनुभएको छ। कार्य विभागमा रहेका दयानिधि ज्ञवालीले चुनावी सुरक्षा र आन्दोलन व्यवस्थापनमा गरेको प्रदर्शनका कारण उनको चर्चा बढी छ।
सरुवा रोकिँदा फिल्डमा खटिएका कर्मचारीहरूमा अन्योल बढेको छ भने आकर्षक ठाउँका लागि शक्ति केन्द्रहरूमा दौडधुप बढेको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।