दाङ, १८ वैशाख । दाङको घोराहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ रामपुर चोक नजिकै भएको दुर्घटनामा अन्दाजी ६०–६५ वर्षका पुरुषको ज्यान गएको हो ।
प्रहरीका अनुसार गएको वैशाख १६ गते राति करिब १० बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय चौघेरा र जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका ती वृद्धलाई तत्काल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । तर, उपचारकै क्रममा सोही राति करिब १२ बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन ।
दुर्घटनालगत्तै मोटरसाइकलसहित फरार रहेका चालकलाई प्रहरीले भोलिपल्ट पक्राउ गर्न सफल भएको छ । खोजतलासका क्रममा वैशाख १७ गते दिउँसो साढे ३ बजेतिर बंगलाचुली गाउँपालिका–३ मुलाबारीका ३० वर्षीय प्रेमलाल नेपालीलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार पक्राउ परेका चालकमाथि थप अनुसन्धान भइरहेको छ । प्रहरीले मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको र शवलाई परीक्षणका लागि अस्पतालमै राखिएको जानकारी दिएको छ ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।