सल्यान, १६ वैशाख । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला भव्यताका साथ सम्पन्न भएको छ। संगठन सुदृढीकरण र स्थानीयस्तरमा पार्टीको उपस्थिति बलियो बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस भेलाले राजाराम सुनारको अध्यक्षतामा ११ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको छ। कमिटीमा दुई सदस्य पछि मनोनीत गरी पूर्णता दिइने पार्टीले जनाएको छ।
भेलालाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै रास्वपा सल्यानका जिल्ला सभापति प्रकाश नेपालीले वर्तमान राजनीतिक परिवेशमा पारदर्शिता र उत्तरदायित्वको अभाव खड्किएको बताउनुभयो। उहाँले जनता अब केवल भाषणको पछाडि नलाग्ने उल्लेख गर्दै परिणाममुखी काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो। “हाम्रो पार्टीको मुख्य उद्देश्य भनेकै व्यवहारमा परिवर्तन ल्याउनु हो। हामी जनताको विश्वास जित्न गफ होइन, काम गरेर देखाउनेछौँ,” सभापति नेपालीले भन्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि एवं रास्वपा कर्णाली प्रदेश कमिटी सदस्य घनश्याम बुढा मगरले संगठनको मेरुदण्ड भनेकै अनुशासन र युवा शक्ति भएको बताउनुभयो। उहाँले पार्टीलाई गाउँ-गाउँमा स्थापित गर्न स्थानीय समस्याहरूलाई पहिचान गरी समाधानका लागि पहल गर्नुपर्ने सुझाव दिनुभयो। स्थानीय मुद्दामा केन्द्रित भएर काम गर्न सके मात्रै आम नागरिकको रास्वपाप्रतिको आशा भरोसा कायम रहने उहाँको तर्क थियो।
यस्तै, जिल्ला कमिटी सदस्य तथा र्यापिड एक्सन टिम (RAT) विभागका जिल्ला संयोजक लोकनाथ योगीले संगठनलाई गतिशील बनाउन तत्काल ठोस कार्ययोजनासहित मैदानमा उत्रिनुपर्ने आवश्यकता औंल्याउनुभयो। संकटको समयमा जनतालाई तत्काल राहत र सहयोग पुर्याउन र्यापिड एक्सन टिमको भूमिका महत्त्वपूर्ण हुने भन्दै उहाँले यो संरचनालाई अझ प्रभावकारी र जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा सभापति राजाराम सुनारको अध्यक्षतामा सम्पन्न उक्त भेलामा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी कार्यदिशाबारे गहन छलफल भएको थियो। कार्यक्रममा वडा कमिटीका उप–सभापति मोतिराम पुनले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वसन्त सुनारले गर्नुभएको थियो। भेलामा वडाका विभिन्न टोलबाट उत्साहजनक रूपमा स्थानीयहरूको सहभागिता रहेको थियो, जसले रास्वपाप्रति ग्रामीण क्षेत्रमा बढ्दो आकर्षणलाई पुष्टि गरेको छ।

बकपत्र डटकम-नेपालकाे सुशासन, सामाजिक न्याय र समृद्धिकाे क्षैत्रमा काम गर्ने डिजिटल पत्रिका हाे।