तिम्रो शीतल सन्नाटामा लामो सास तान्दै हाँसेकीछु
हर्दम बगिरहने नदी जस्तै एउटै लयमा नाचेकीछु
मेरा पवित्र मुस्कानहरूको झोक्काले पलपल तिम्रो अपनत्वको आयाम नापिरहन्छन्
त्यसैले त यो धर्तीमा सुकर्मका बिज उमारिरहेकीछु
भग्नावशेष प्रेम सिन्धुका तटहरूमा आएको तिम्रो वेगले
त्यो निर्मम पुरातत्वलाई उधारेर आज जीवनको परिधान फेरेकोछ
उत्साह फेरेकोछ, मुस्कान फेरेकोछ
निर्माणाधिन मानवताको प्रेम मन्दिरमा शान्ति र प्रेमको अगरबत्ती सल्किएकोछ
तिम्रो पवित्र गतिले मेरा आशाका मुना उमारेकोछ
प्रिय हावा!
तिम्रो तेजस्वी लहरले जिन्दगीको धुन फेरेकोछ
यही कारण मेरा पदचापका कोण फेरेकीछु
अस्तित्वका खुट्टा उचालेकीछु
आऊ तिमीसगै वायुमण्डलमा उडाएर फिजाऊ मलाई
म पनि उडेर प्रेम ,शान्ति र मानवताको त्रिपुर निर्माण गरूँ।
मलाई सम्झिने र माया गर्ने सम्पूर्ण प्रियजनमा यो स्वर्णिम प्रभातको साहित्यिक न्यानो अभिवादन !
– दाङ
०८२ ।११।२

लेखक-भवानी न्यौपाने “भावना” ‘स्वतन्त्र साहित्यीक पुन्ज नेपालको केन्द्रीय अध्यक्ष हुन्।’