अन्तरजातीय मागी विवाह

अन्तरजातीय मागी विवाह गर्ने जोडीलाई मण्डपमै सम्मान

बकपत्र संवाददाता       २ दिन अगाडी प्रकाशित     11 No Comments

‘छोराले मन पराएको केटीसँग विवाह गर्न चाहृयो, हामीले पनि स्वीकार गर्‍यौं

📋 सारांश
  • देशका विभिन्न स्थानमा अझै पनि जातीय विभेद र छुवाछुतका घटना भइरहेका बेला धादिङको ज्वालामुखी गाउँपालिकामा धुमधाम साथ अन्तरजातीय मागी विवाह भएको छ।
  • ज्वालामुखी–७ की मञ्जु रम्तेल र ज्वालामुखी–६ का संगम राना मगरको शनिबार पारिवारिक सहभागीतामै धुमधामसाथ विवाह भएको हो।
  • धुमधामसाथ मागी विवाह भएपछि जातीय विभेदबिरुद्ध उदारहणीय काम गरेको भन्दै गाउँपालिकाले मण्डपमै दम्पतीको सम्मान गरेको छ।

धादिङ । देशका विभिन्न स्थानमा अझै पनि जातीय विभेद र छुवाछुतका घटना भइरहेका बेला धादिङको ज्वालामुखी गाउँपालिकामा धुमधाम साथ अन्तरजातीय मागी विवाह भएको छ ।

ज्वालामुखी–७ की मञ्जु रम्तेल र ज्वालामुखी–६ का संगम राना मगरको शनिबार पारिवारिक सहभागीतामै धुमधामसाथ विवाह भएको हो । धुमधामसाथ मागी विवाह भएपछि जातीय विभेदबिरुद्ध उदारहणीय काम गरेको भन्दै गाउँपालिकाले मण्डपमै दम्पतीको सम्मान गरेको छ ।

दुवै परिवारबीच कुरा मिलेपछि संगमको परिवार बाजागाजासहित बेहुली अन्माउन दलित समुदायकी मञ्जुको घर गएको थियो । यो अन्तरजातीय विवाहलाई सामाजमा आएको सकारात्मक परिवर्तनको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ ।

ज्वालामुखी–७ की मञ्जु रम्तेल र ज्वालामुखी–६ का संगम राना मगरको धुमधामसाथ मागी विवाह भएपछि जातीय विभेदबिरुद्ध उदारहणीय काम गरेको भन्दै गाउँपालिकाले मण्डपमै सम्मान गरेको छ ।

मन्जु जापानमा बस्दै आएकी थिइन् । उनीहरूबीच मञ्जु जापान जानुअघि नै प्रेम सम्बन्ध सुरु भएको थियो । लामो समय एकअर्कालाई बुझिसकेपछि उनीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

मञ्जु जापान र संगम नेपालमै बस्दै आएका छन् । मन्जु बिहेको लागि हालै नेपाल आएकी हुन् । एकअर्कालाई राम्रोसँग बुझिसकेपछि परिवारलाई आफ्ना कुरा खुला रूपमा राखेका कारण विवाह सम्भव भएको नवविवाहित दम्पतीले बताए । ‘युवायुवतीले आफू प्रष्ट भएर परिवारलाई आफ्ना कुरा राख्न सके जातका कारण सम्बन्ध छुट्नुपर्ने अवस्था आउँदैन,’ मञ्जु र संगम दम्पतीले भने ।

संगमका बुवा बेदबहादुर राना मगरका अनुसार समाजले भन्दा आफ्ना सन्तानको खुसी महत्वपूर्ण हुने बताए । ‘छोराले मन पराएको केटीसँग विवाह गर्न चाहृयो, हामीले पनि स्वीकार गर्‍यौं । परम्परा अनुसार बाजागाजासहित विवाह सम्पन्न गरेका छौं,’ उनले भने ।

मञ्जुका बुवा कृष्ण रम्तेलले सुरुमा अन्तरजातीय विवाहबारे सुनिने नकारात्मक घटना सम्झेर केही चिन्ता लागे पनि बेहुला पक्षको व्यवहार र विश्वासका आधारमा छोरीको खुसीलाई प्राथमिकता दिएर विवाह गरिदिएको बताए । उनका अनुसार बेहुला पक्षले आफ्नो संस्कृति अनुसार छोरी माग्न आएपछि पारिवारिक सहमतिमै विवाह सम्पन्न गरिएको हो ।

उनीहरुको यो विवाहलाई ज्वालामुखी गाउँपालिकाले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेको छ । गाउँपालिका अध्यक्ष यामनाथ दनै बेहुलाको घरभएको वडाका अध्यक्ष किशोर सेडाइ र बेहुलीको वडाका अध्यक्ष ज्ञानेन्द्र खकुराल पनि विहेमा सहभागी थिए । उनीहरुले पालिकाको तर्फबाट बेहुला–बेहुली र परिवारको प्रशंसा गर्दै मण्डपमै सम्मान गरे । यो विवाहले समाजमा सकारात्मक सन्देश दिएको पालिका अध्यक्ष दनैले बताए ।

जातका आधारमा कुनै पनि खालको विभेद गर्न नपाइने कानुनी व्यवस्था भए पनि व्यवहारमा जातीय विभेदका घटना पूर्णरूपमा अन्त्य भएका छैनन् । विभिन्न जिल्लामा अन्तरजातीय विवाहका कारण धम्की, सामाजिक दबाब वा हिंसाका घटना समय–समयमा सार्वजनिक हुने गरेका छन् ।

सामाजिक अभियन्ताहरूका अनुसार यस्तो अवस्थामा पारिवारिक सहमतिमा सम्पन्न भएका अन्तरजातीय विवाहले समाजमा सकारात्मक उदाहरण स्थापित गर्न सक्छन् । दुवै परिवारको सहमतिमा परम्परा अनुसार सम्पन्न भएको यो विवाहलाई जातीय विभेद अन्त्यतर्फको एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । यस्ता उदाहरणीय कामले समाजलाई समानता, सहिष्णुता र सामाजिक सद्भावतर्फ अघि बढाउन प्रेरणा दिने गाउँपालिका अध्यक्ष दनैले बताए ।

पोषनाथ अधिकारी

सम्वन्धित समाचार